टोपबहादुर रायमाझीबारे ओलीले भने : बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइन

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समानुपर्ने खालको … रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’