बचतकर्ताको आँखामा धुलो झोक्दै आएको सिन्सियरको यथार्थ छर्लङ्ग

राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा केही समययता चर्को भीडभाड देखिन थालेको छ । सिन्सियरको कालो कर्तुत र ठगीधन्दा बाहिरिएपछि बचतकर्ताहरु धमाधम सिन्सियर पुगेका छन् । आफ्नो पैसा सुरक्षित छ कि छैन् भनि बुझ्न र छिटो बचत निकाल्न उनीहरु सिन्सियर गएका हुन् । सिन्सियरको अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले घुस र सेवाशुल्क पाउने भएपछि भटाभटी ट्याक्सीमा कर्जा लगानी गर्यो ।

एउटा ट्याक्सी राखेर कर्जा लिएबापत ऋणीले यी तीन हर्ताकर्तालाई २५ हजार रुपैयाँ घुस खुवाउनुपर्छ । दुई प्रतिशत सेवाशुल्क तिर्नुपर्छ । १० लाख कर्जा लियो भने २० हजार त सेवाशुल्क नै दिनुपर्ने ऋणीहरु बताउँछन् । यता, कर्जा लिनेलाई जबरजस्ती खाता खोल्न लगाउने र सेयर भिडाउने कार्य सिन्सियरले गर्दै आएको छ । ट्याक्सी व्यवसायीले आफ्नो नाममा भएको ट्याक्सीको ऋण अर्कोलाई ट्रान्सफर गर्दा पनि सिन्सियरले दुई प्रतिशत लिने गरेको छ ।

बजारमा जति बढी किनबेच भयो, ट्याक्सीको मूल्य बढ्यो सिन्सियरलाई उत्ति नै फाइदा हुन्थ्यो । सेवाशुल्क पनि आइरहने, ऋणी परिवर्तन गर्दा पनि दुई प्रतिशत खान पाउने । चार वर्षका लागि भनेर ट्याक्सी व्यवसायीले लिएको ऋण एक हप्ता मै चुक्ता गरिदिन्थे । व्यवसायीले आफूलाई फाइदा हुनेबित्तिकै ट्याक्सी बेचिदिन्थे अनि आफ्नो पैसा उठाउँथे । यता, सिन्सियरबाट लिएको ऋण चुक्ता गरेर नाफा आफूसंग राख्थे ट्याक्सी व्यवसायी । फेरि अर्को ट्याक्सीलाई त्यसैगरी ऋण दिएर सिन्सियरले सेवाशुल्क, घुस खाइरहन्थ्यो ।

सिन्सियरले पैसा कहिले पनि फ्रिज हुन दिँदैनथ्यो । एउटाले ऋण चुक्ता गर्छ, त्यही पैसा अर्कोलाई घुस र सेवाशुल्क लिएर कर्जामा लगानी गथ्र्यो । यता, सिन्सियरको चर्को ब्याजका कारण पनि ट्याक्सी व्यवसायीहरु ऋण फिर्ता गर्न हौसिँन्थे । स्थापनाकालदेखि नै सिन्सियरले ट्याक्सीमा लगानी गरेको छ । अन्य वित्तिय संस्थाले हत्तपत्त ट्याक्सीमा लगानी गर्दैनन् किन कि तिनलाई यसबारे ज्ञान छैन् । ट्याक्सीमा नाफा हुन्छ, छिटोछिटो कर्जा उठ्छ, सेवाशुल्क र घुस खान पाइन्छ भन्ने थाहा पाएका सिन्सियरले यही मात्र कर्जा लगानी गर्यो ।

२०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरले त्यतिखेरबाटै आफ्नो ठगीधन्दा चलायो । ट्याक्सी व्यवसायीलाई ठग्ने, उनीहरुको बिल्लीबाठ बनाउने, ट्याक्सी चालकलाई सुकुम्बासी बनाउने काम सिन्सियरबाट भएको छ । सिन्सियरका कारण हजारौं विस्थापन भएका छन् । ट्याक्सी चालकको ट्याक्सी पनि तान्ने अनि उनीहरुको घरजग्गा पनि खाइदिने । तीन किस्ता नतिर्नेबित्तिकै गुण्डा लगाएर ट्याक्सी तानिहाल्छन् ।

आफ्नो हातखुट्टा भाँच्छ भनेर तीन हर्ताकर्ता जाँदैनन् । गुण्डालाई ४० हजार दियो भने ट्याक्सी तानेर ल्याइहाल्छ । ल्याएको ट्याक्सी आफ्नो मातहतमा नआएसम्म लुकाएर राख्छ । अनि ऋणी परिवर्तन गरेर अर्कोलाई बेचिहाल्छ । सिन्सियरको हाल पनि झण्डै साँढे आठ सय वटा ट्याक्सीमा कर्जा लगानी छ । ६० देखि ७० करोड रुपैयाँ कर्जा लगानी त सिन्सियरको ट्याक्सीमै छ । थोत्रा, कबाडी ट्याक्सीमा सिन्सियरले यत्रो पैसा लगानी गरेको छ ।

२०००, २००३, २००४ मोडल र थ्री फोर मोडलको सात सय बढी ट्याक्सीमा सिन्सियरको कर्जा लगानी भएको पाइन्छ । २०१६ देखि २०१८ मोडलको जम्माजम्मी एक सय वटा ट्याक्सीमा उसको लगानी छ । नयाँ ट्याक्सी धितो राखेर सिन्सियरले २२ देखि २३ लाख रुपैयाँ कर्जा दिएको छ । यद्यपि, गाडीको मूल्य नै यति छ । बजारी मूल्य जति छ त्यति नै सिन्सियरले कर्जा दिएको छ । सिन्सियरले थ्री फोरका गाडीबाट अझै पनि कर्जा उठाउन बाँकी छ ।

एक दशकअघि सिन्सियरले यही मोडलको ट्याक्सी धितो राखेर १० लाख रुपैयाँसम्म कर्जा दियो । घुस र सेवाशुल्क पाउने भएपछि सिन्सियरले झ्यापझ्यापी कर्जा दियो । अहिले एउटै थ्री फोर गाडीबाट सिन्सियरले १४ देखि १६ लाख उठाउनुपर्ने छ । २००० मोडलको गाडीबाट आठदेखि १० लाख रुपैयाँ कर्जा उठाउनु छ । सिन्सियरको कर्जा तिर्नेले त तिरिहाले, नतिर्नेको त दिनँहु बढ्दै गएको छ । २००० को ट्याक्सी दर्ता भएको २३ वर्ष लाग्यो । २००३ मोडलको २० पुरा भएर २१ वर्ष लाग्यो ।

२००४ मोडलको ट्याक्सी दर्ता भएको १९ पुगेर २० वर्ष लाग्यो । सरकारले दर्ता भएको २० वर्ष पुगिपछि त्यो गाडीलाई विस्थापन गर्ने निर्णय गरिसकेको छ । त्यस गाडीलाई बाटामा चल्न नदिने, उक्त सवारीको रोड परमिट र दर्ता खारेज गर्ने, नामसारी गर्न नदिने निर्णय सरकारले गरेको छ । पूराना गाडीले प्रदुषण बढ्यो, दुर्घटना बढ्यो र ट्राफिक जाम भयो भनेर २०७१ भदौ २६ गतेको मन्त्रिपरिषद्को बैठकले २० वर्षे सवारी साधन हटाउने निर्णय गर्यो ।

२०७१ फागुन १८ गते त्यो राजपत्रमा निस्कियो । कानुन बन्यो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले ०७३ फागुन १७ गतेभित्र बागमती अञ्चलबाट २० वर्ष पुगेका सवारी साधन विस्थापन गर्ने र ०७४ चैत १ गतेबाट देशैभरबाट थोत्रा गाडी हटाउने निर्णय गर्यो । त्यो निर्णय कार्यान्वयनमा गइसकेको छ । ट्राफिक प्रहरीले २० वर्ष पुगेको सवारी साधन धमाधम समात्न शुरु गरिसकेको छ । त्यस्तै, सरकारले आयु पुगेको सवारीको नामसारी, जाँच पास, रोड परमिट नवीकरण र प्रदुषण रोकिसकेको छ ।

त्यस्ता सवारीको कुनै पनि कागजपत्र नवीकरण हुँदैन् । ती सवारी साधन बाटामा चल्न पाँउदैन । चल्यो भने ट्राफिकले समातेर लग्छ । ती ट्याक्सी कबाडीमा बेच्दा ३० देखि ४० हजार रुपैयाँ आँउछ । यद्यपि, सिन्सियरले त्यही ट्याक्सीबाट आठदेखि १० लाख रुपैयाँ उठाउनुपर्ने छ । कुनैबाट १५ लाख रुपैयाँसम्म उठाउनु छ । सिन्सियर यहाँ आएर भड्खालोमा परेको छ । बचतकर्ताले बचत गर्न भनेर राखेको पैसा ट्याक्सीले लगेको छ । ब्याजको त कुरै छोडौं, साँवा पनि नउठ्ने अवस्था छ ।

२० वर्षे पूराना गाडीमा लगानी छ भनेर सिन्सियरले कुनै पनि बचतकर्तालाई जानकारी गराएन् । ट्याक्सीमा लगानी छ त भन्यो तर कति मोडल लगानी छ ? बचतकर्तालाई थाहा छैन् । सरकारले २० वर्ष पुगेका सवारी साधन विस्थापन गर्छ भनेर बचतकर्ताले थाहा पाएनन् । सिन्सियरका तीन हर्ताकर्ताले अहिलेसम्म बचतकर्तालाई भुङ्ग्रामा राख्यो । बचतकर्ताको आँखामा धुलो झोक्दै सिन्सियरले उनीहरुको पैसामाथि रजाँइ गर्यो । सिन्सियरले आफू डुबेको छैन् भन्ने दाबी गर्दै आएको छ ।

बचतकर्ता उसले भनेको कुराको भ्रममा त पर्लान् तर सिन्सियरले कति मोडलमा लगानी गरेको छ ? योबारे बचतकर्तालाई के थाहा ? बजारमा नयाँ ट्याक्सी दौडिन थालिसकेको छ । बाटामा यी सवारी देखेपछि बचतकर्ताहरु सिन्सियरको लगानी यसैमा होला भन्ठान्छन् । तर, थोत्राबाटै सिन्सियरले करोडौं उठाउन बाँकी छ भन्न यिनलाई के थाहा ? सिन्सियरको लगानी थोत्रा ट्याक्सीमा छन् भन्ने त अहिले बाहिर आइसकेको छ । सिन्सियरले चलाउँदै आएको ठगीधन्दा छरपष्ट भएको छ ।

आफ्नो पैसा डुब्ने अवस्थामा पुग्यो भनेर बचतकर्ताले चिन्तित बनेका थिए । सिन्सियरले सरकारको निर्णय टेरेन् । जसरी हुन्छ सरकारको निर्णय ढाकछोप गर्दै आएका थिए । बचतकर्ताले सरकारको निर्णय थाहा पाउलान् भन्ने डर सिन्सियरका तीन हर्ताकर्तालाई थियो । आफ्नो संस्था टाँट पल्टिन्छ भनेर सिन्सियरले गोप्य धन्दा चलाउँदै आएको थियो । सिन्सियरका कर्मचारीहरुले समेत यो कुरा बाहिर ल्याएनन् । खराब कर्जाबारे सिन्सियरले बाहिर ल्याउन दिएन् । कर्मचारीलाई समेत दबाउने काम भइरहेको थियो ।

बचतकर्ताले यिनीहरुमाथि विश्वास त गरे जसको मूल्य उनीहरुले अब चुक्ता गर्नुपर्छ । सिन्सियरले घुस खाएर थोत्रा ट्याक्सीमा लगानी गरेको छ भन्ने उनीहरुले थाह पाएनन् । सरकारले २० वर्षे पूराना ट्याक्सी हटाउँदैन्, नयाँ ट्याक्सीको दर्ता खुल्दैन् भन्ने भ्रममा सिन्सियर थियो । ट्याक्सीमा २०५७ जेठ १७ गतेबाट सिण्डिकेट थियो । त्यतिखेर सरकारले नयाँ ट्याक्सीको दर्ता बन्द गरेको थियो । अटोशोरुमसंग दुई लाखमा किनेको ट्याक्सी व्यापारीले मूल्य बढाउँदै लगे ।

दिनमा दुई गुणा र रातमा चौगुणा ट्याक्सीको मूल्य बढ्दै गयो । कमाइ पनि राम्रो हुन थाल्यो । त्यो भएपछि सिन्सियरले आँखा चिम्लेर ट्याक्सीलाई कर्जा दियो । यता, सरकारले २० वर्षे हटाउने निर्णय गरिदियो । जसले सिन्सियरलाई चार्लमचुलुम्म बनायो । सिन्सियरले लगानी गरेको थोत्रा ट्याक्सीको साँवा ब्याज नै नउठ्ने भो । वालुवामा पानी हालेझैं भएको छ । सिन्सियरका हर्ताकर्ता यतिखेर कार्यालय आउनै छोडिसके । आएपनि एकदुई घण्टाका लागि आउने, कुलेलम ठोकिहाल्ने । अन्य सहकारीझैं सिन्सियरको हाल पनि बेहाल छ । बचतकर्तालाई ढाँट्ने र सञ्चालक भाग्ने अवस्था सिन्सियरमा देखिएको छ ।

अनुसा थापा
भक्तपुर