कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै, नामावली पनि आजै प्रकाशन गरिने

सुर्खेत : कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ ।प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ । यसैगरी, आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

को–को छन् आकाङ्क्षी ?

सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा (एमाले)ले अहिलेसम्म पनि उम्मेदवारको टुङ्गो लगाएको छैन । एमालेबाट अहिलेसम्म तीन जना सभामुखका आकाङ्क्षी देखिएका छन् । सभामुखको लागि सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा छ । तीन जना मध्ये मल्ल प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ र रोकाय समानुपातिकबाट निर्वाचित सांसद हुन् ।

एमाले सांसद टेकराज पछाईका अनुसार अहिलेसम्म उक्त विषयमा खासै छलफल नै भएको छैन । आज ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएकाले आज दिउँसो बैठक बसेर छलफल गरिने उनले बताए । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ ।

यसैबिच, सत्ता गठबन्धन टुट्दा मुख्यमन्त्री गुमाएको नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ । सांसद हिम्मत बहादुर विष्टका अनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो छलफल हुने छ । यद्यपि आन्तरिक तयारी भने भइरहेको उनले बताए ।

कांग्रेसबाट सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्ग पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयामा आन्तरिक छलफल भइरहेको एक नेताले बताए ।