सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले लिए केपी ओली र विष्णु पौडेलको नाम

काठमाडौं : महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको नाम समेत मुछेका छन् ।

आइतबार बयानका क्रममा जबराले पूर्व प्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई लाञ्छना लगाएको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए । ‘गालीगलौज ठहर हुने शब्दहरु प्रयोग गरेर लान्छना लगाउनु भएको छ,’ उनले भने ।

विश्वकर्माका अनुसार सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । बयानका क्रममा जबराले त्यसलाई स्वीकार गरेका छन् ।

रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले गरेको भन्दै उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नु भएको छ ।

तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।’