आजदेखि `इसुजु चितवन गोल्डकप – २०७९ ´ शुरु

निराज रानाभाट
चितवन : `इसुजु चितवन गोल्डकप´ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता भदौ २५ गते, शनिबार (आज) देखि शुरु हुँदै छ। चितवन गोल्डकप जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भएको बारेमा आयोजकका संयोजक धुव्र भुसालले जानकारी गराए ।

प्रतियोगिताका लागि आयोजकले एकपटकमा ४ हजार दर्शक क्षमताको अस्थाइ प्यारापीट समेत निर्माण गरेको छ । यस्तै, प्रतियोगिताको तयारी स्वरुप मैदान सम्याउने कार्य समेत सम्पन्न भइसकेको आयोजकले जनाएको छ । संयोजक भुसालले भने, ‘हाम्रो तयारी पुरा भएको छ । मैदान तयार छ, ६ लाख बढी खर्चमा ४ हजार क्षमताको प्यारापीट निर्माण गरेका छौंं ।’

शनिबार (आज) देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र छिमेकी देश भारतको मोतिहारी एफसी भिड्ने छन् । प्रतियोगिता भने चितवन जिल्लाको भरतपुर महानगरपालिका – १०, क्यामपाचौर (नारायणगढ) मा दिउँसो ०३:०० बजे, शुरु हुँदै छ । प्रतियोगितामा स्वदेशी र विदेशी गरि १० टोली सहभागी हुँदै छन्, भने सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

सहभागी टोलिहरुमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मनाङ्ग मर्स्याङ्गदी क्लब, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, वाग्मती नगरपालिका, मकवानपुर १, नव जनजागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी रहेका छन् । आउँदाे असोज ०३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ७ लाख रुपैयाँ प्राप्त गर्ने छ, भने उप – विजेताले ३ लाख ५० हजार हात पार्नेछ ।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि क्वाटरफाइनलसम्म १ सय रुपौयाँ टिकटदर कायम गरिएको छ, भने त्यसपछिका चरणहरुमा टिकट दर २ सय रहने आयोजकले जानकरी गराएका छन् ।