पराशर मा.विको विद्यालय सुधार योजना अद्याबधिक कार्यशाला संपन्न

मिलन तामाङ
दमौली : तनहूँको व्यास ५ बेनीपाटन पराशर मा. वि. विद्यालय सुधार योजना अद्याबधिक कार्यशाला संपन्न भएको छ । विद्यालय सुधार योजना २०७८/२०८२ अन्तर्गत दोश्रो वर्ष शै.स. २०७९ को विद्यालय सुधार योजना अद्याबधिक गर्ने प्रयोजनका लागि उक्त कार्यशाला विद्यालय व्यवस्थापन समितिका अध्यक्षतामा संपन्न भएको हो ।

उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट ज्ञानोदय वाल क्लवका अध्यक्ष एवं कक्षा १० का छात्रा मनिषा थापा, पुर्व वि. व्य. स.अध्यक्ष नर बहादुर रानाभाट, मानधोक थापा, आशागुरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरी, संगम टोल विकास संस्थाका अध्यक्ष लगायतले विद्यालय सुधार योजना २०७९ मा समेट्नु पर्ने कार्यक्रमबारे समुहगत रुपमा सुझावहरु दिएका थिए । कार्यशालामा प्रधानाध्यापक रामदत्त पौडेलले प्राप्त सुझावित कार्यक्रम विद्यालय सुधार योजना २०७९ मा क्रमशः समेट्दै लैजाने प्रतिवद्घता व्यक्त गरे ।

वि.व्य.स. अध्यक्ष श्री उषा क्षेत्रीले विद्यालय सुधार योजना विद्यालयको ऐना भएकोले संपुर्ण सरोकारवालाले यसमा सहभागी भई सुझावहरु प्रदान गरेमा विद्यालयको सर्वपक्षीय विकास हुने कुरा वताए। उक्त कार्यशालामा विभिन्न टोल विकास समितिका अध्यक्षहरु, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरु, खानेपानी उपभोक्ता समितिका अध्यक्ष क्लबका अध्यक्षहरु, वि. व्य. स. सदस्यहरु, अभिभावक शिक्षक संघका अध्यक्ष एवं सदस्यहरु, निवर्तमान वि. व्य. स.अध्यक्षहरु, निवर्तमान प्रधानाध्यापक, शिक्षकहरु तथा विद्यार्थीहरु सहभागी भएका थिए ।

शिक्षक शम्भुलाल थापाले विद्यालयको विद्यमान अवस्था र गतिविधिका बारेमा सहजिकरण गरेको कार्यशालामा उपस्थित सबैलाई सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले स्वागत गरे भने कार्यक्रमको संचालन शिक्षक अमृता आलेले गरेको थियो ।