सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति छैन : देउवा

काठमाडौ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताए ।

एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन, उनले भने । देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए ।

संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध छ । उनले भने, वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए ।