शुभ दिपावलीकाे आज तेस्रो दिन , गोवर्धन पूजा , म्हपूजा र गाई – गोरु पूजा गरिँदै

 

निराज रानाभाट

काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड शुभ – दिपावली ( तिहार ) काे  आज  तेस्रो दिन आज गोवर्धन पूजा , म्हपूजा र गाई – गोरु पूजा गरिँदै छ ।

गोवर्धन पूजा :
गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे , तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एक दिन गोकुलबासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज , घाँस , पानी , दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलबासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो ।

त्यसैले गोवर्धन , गोकुल , गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार ( यम पञ्चक ) को दिनमा पर्दछ र त्यस दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ ।

आज गाई – गोरूको पनि पूजा गरिन्छ । यो तिहारको तेस्रो / चौथो दिन यो चाड पर्दछ । यस पर्वलाई गोरु तिहार , हलि तिहार अथवा गोवर्धन पूजा पनि भनिन्छ ।

म्हपूजा :
आफ्नो शरीरको प्रतिनिधि काय ( शरीर ) , वाक ( वचन ) र चित्त ( मन ) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराइ गरिने पूजा नै म्हपूजा हो ।

काय , वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल ( सक्षम ) विचार वा चित्त उत्पत्ति भइ राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ ।

व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्म चित्त उत्पत्ति हुने छ , जसलाई धर्माेदय भनिन्छ । कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानको रूपमा रहेको म्हपूजा गर्दा माथिका श्लोकहरुको उच्चारण गरिन्छ ।

यो म्हपूजा हजारौँ वर्षदेखि मुलुकको राष्ट्रिय गौरवको रूपमा देशभरि चल्दै आइरहेको छ । स्वन्ति नखः अन्तर्गतको म्हपूजा गैरनेवार समुदायबीच पनि सुपरिचित छ । विशेषगरी , अरु समुदायको भन्दा छुट्टै मौलिक पहिचान भएको म्हपूजामा विशेष प्रकारको मण्डप बनाइ तयार गरिने हुँदा मण्डप हेर्ने जोकोही दर्शकको मन तान्छ ।

नेपाल संवत्अनुसार हरेक नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हपूजा ( आफ्नो शरीरको पूजा आफैँ गर्ने ) गर्ने परम्परा छ । म्हपूजाको दिन अर्थात  आज देखि नेपाल संवत्अनुसारको नयाँ वर्ष शुरु भएको छ । यो दिन नेवार समुदायमा न्हूदँया भिँतुना ( नयाँ वर्षको शुभकामना ) आदानप्रदान गर्ने गरिन्छ ।

बौद्ध विद्वान राजेन्द्रमान बज्राचार्यले आफ्नो शरीरभित्र रहेको चित्त शुद्धिकरण गर्न हजारौँ वर्षदेखि नेवार समुदायले म्हपूजा गर्दै आइरहेको बताए । नेवार समुदायमा म्हपूजा औंसीको दिन गर्न नहुने मान्यता छ । सूर्योदयका साथ आएको चन्द्रमाको तिथिअनुसार म्हपूजा मनाउनुपर्छ ।

नेवार समुदायमा स्वन्ति नखः मनाउँदा तिथिको दोहोरोपन अथवा तिथि छुटको गणना हुँदैन । तिथिको गणनाका कारण मानिसमा अलमल हुने गरेको पाइन्छ । म्हपूजाका दिन बिहान सबैरै नुहाइधुवाई गरी आफूलाई शुद्ध पारी विभिन्न मौलिक नेवारी खाद्य परिकार तयार गरी मनाइने यो पर्वमा विशेष प्रकारको मण्डप बनाइन्छ ।

आठ पाते ( कमलको आठवटा पात ) कमलको आकृति भएको मण्डपमा जल मण्डप ( पानीको मण्डप ) , पोताय् मण्डप ( एक प्रकारको सेतो रङबाट बनाइएको मण्डप ) तथा तेल मण्डप बनाई आँखे ( सिङ्गो चामल ) , ताय् ( लावा ) , ग्वगु माय् ( सिङ्गो मासको दाल ) , हाकुमुस्या ( कालो भटमास ) वा ( धान ) , आदि राखेर छुट्टाछुट्टै मण्डप बनाइन्छ ।

नेपाल मण्डलको महायान बज्रयान परम्परामा म्हपूजा गर्दा सम्यक सम्बोधी मार्गमा मार्गस्थ हुन भवचक्रको ( जन्म मरणबाट मुक्ति ) ज्ञान प्राप्त गरी शरीर , वचन र चित्तबाट हुने दश अकुशलवादी ( खराब काम ) कर्मबाट मुक्त हुने विश्वास छ । बुद्ध , धर्म र सङ्घ मण्डललाई पूजा गरी शून्यताको ज्ञान प्राप्त गर्ने प्रक्रिया म्ह पूजा हो । यसबाट व्यक्तिमा मैत्री , करुणा , मुदिता ( अरुको प्रगतिमा खुशी हुने ) र उपेक्षा भाव पैदा भइ सम्यक सम्बोधी मार्गमा प्रशस्त हुने जनविश्वास छ ।

नेवार समुदायमा सूर्योदयले समेटेको कछलाथ्व प्रतिपदाको दिन बेलुकी म्हपूजा गर्ने परम्परा रहिआएको छ । लामो समयदेखि बौद्धदर्शनमा अनुसन्धान गर्दै आएका बौद्धअध्येता आनन्दमुनि बज्राचार्यका अनुसार नेवार समुदायको एक विशिष्ट पहिचानको रूपमा शदियौंदेखि रहिआएको म्हपूजा नेवार समुदायको मौलिक भाषा तथा लिपिपछि ‘ म नेवार हूँ ’ भनी चिनाउने एक मौलिक विशेषता हो ।

“ बज्रयन बौद्धधर्ममा म्ह पूजा पूर्णतः वैज्ञानिक अवधारणाभित्र पर्दछ । बौद्धधर्ममा आत्मालाई शरीरको एक काल्पनिक अवस्था मात्र मानिन्छ । यसकारण म्हपूजाको छुट्टै विशेष महत्व छ । आजभोलि म्हपूजा नेवार समुदायको मात्र नभइ समग्र नेपाली र विश्वकै साँस्कृतिक महत्व बोकेको सम्पदाको रूपमा विकास भइरहेको छ ”, बज्राचार्य भन्छन् ।

म्हपूजाका दिन नयाँ कुचो , एउटा नाङ्लो तथा पानीको घडालाई पनि देवताको प्रतीकका रूपमा मण्डपमा सजाएर राखिन्छ ।