चितवनमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक,पटका पड्काउनेलाई कारबाही

चितवन : चितवन प्रशासनले शुभ – दिपावली ( तिहार ) को बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले काेराेना भाइरस (कोभिड-१९)संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी सूचनामा देउसीभैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भइ स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।

समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी , पटका पड्काउने , सो को अवैध बेचबिखन गर्ने , विष्फोटक पदार्थ आयात एवम् बिक्री / वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ ।

मूल्यवृद्धि र कालोबजारी नगर्न , मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरितका क्रियाकलाप भए अथवा गरेको पाइए नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले अपिल गरेको छ ।