विराटनगरको एक मोबाइल पसलमा  चोरी

 

विराटनगर : विराटनगरको महेन्द्र चोकमा रहेको मोबाइल पसलमा चोरी भएको छ ।शुक्रबार राति विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेजमा दोस्रो पटक चोरी भएको हो ।

पसलमा सञ्चालक मधुकुमार राईका अनुसार २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसमा चोरी भएको हो । यो पटक भने १५–१६ वटा मोबाइल पसलबाट चोरिएको उनले बताए ।

शनिबार बिहान साढे ११ बजे पसल आउँदा उनले चोरी भएको थाहा पाएका थिए । ‘हिजो बेलुका पसल बन्द गरेर घर गएको थिएँ,’ उनले भने, ‘आज ढिलोगरी आउँदा चोरी भएको थाहा भयो ।’

उनका अनुसार पसलबाट १५–१६ वटा स्मार्ट फोनहरु चोरिएका छन् । नयाँ मोबाइलको खोल भने पसलबाट केही पर भेटिएको थियो ।

किराना पसलको सटर फोरेर भित्र पसेको चोरले मोबाइल पसल र किराना पसको भित्र पट्टी लगाएको प्लाइको बेरा काटेर चोरी गरेको देखिएको प्रहरीले बताएको छ । चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।