कविता -एउटा नोटको जीवनी : भूपिन खड्का

मेरो हातमा
हजारौँ हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु।

यो नोटको जन्मको बारेमा
म बिल्कुल अनभिज्ञ छु।
तर थाहा छ मलाई–
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा सुरू भयो।

एक क्यासियरले
जिब्रोको थुकमा बूढीऔँला चोबेर
गन्यो यो नोट
र पहिलो पटक थमायो ग्राहकको हातमा।

बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो
मासु पसलमा
नोटमा बगरेको हातको आलो रगत टाँसियो।

त्यसपछि पुग्यो नोट
रुघाग्रस्त साहूको हातमा
नोटमा साहूको सिंगान टाँसियो।

त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेको हातले
नोट गन्दै थियो।

पुग्यो नोट
भर्खरै बाथरुममा सेफ्टी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
नोटमा टाँसियो
मासिक स्रावको रगत।

पुग्यो नोट
यौनकर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस।

भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिपोक्रेट
सबैको हातहातसम्म
नोटको यात्रा जारी रह्यो।

एक पटक बढो मुस्किलले
गरिबको हातमा पनि
पुग्यो नोट
जसमा उसको आँशु
र पसिना पनि मिसियो।

तर, भोलिपल्ट नै नोट पुग्यो
बेरोजगारीले किलकिले अँठाएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो
अफिमको बास्ना टाँसियो।

लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवान्लाई
त्यही नोट।

म पढिरहेछु
एउटा नोटको रोमाञ्चक जीवनी।
तर बुझिरहेको छैन कि
किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट?

मेरो हातमा
हजारौँ हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु।