रेसिपी : मटन ग्रेभी,खसिको मासुको सेकुवा,खसिको भुटन र मटर पनीर

मटन ग्रेभी
सामाग्री : 
आधा किलो खसिको मासु टुक्रा गरेको, एक चिया चम्चा बेसार, जिरा र धनियाँको धुलो दुई ठूलो चम्चा, दुई चिया चम्चा रातो खुर्सानीको धुलो, अलिकति हरियो धनियाँ, नून स्वाद अनुशार, ठूलो आकारको प्याज एकवटा मसिनो गरी काटेको, चारवटा टमाटर, दुइवटा तेजपत्ता, सानो दुइटुक्रा अदुवा, ६ या ७ पोटी लसुन र तोरीको तेल ३ ठूलो चम्चा,

विधि :
लसुन, अदुवा र गोलभेडालाई मिक्सचरमा राखेर मिक्स गर्नुहोस् । प्रेसर कुकरलाई तताउनुहोस् र तोरीको तेल राख्नुहोस् । तेल तातेपछि प्याजलाई खैरो हुन्जेल भुट्नुहोस् । अब मासु राख्नुहोस् । यसलाइ ७ मिनेट जति फ्राइ गर्नुहोस् । फ्राइ गरेपछि कलर रातो रातो हुन्छ । यसपछि तेजपत्ता हाल्नुहोस् । अब त्यसमा बेसार, जिरा धनियाँको पाउडर राखेर राम्रोसँग चलाउनुहोस् । अब स्वाद अनुसार नून राख्नुहोस्, अनि दुइ चम्चा लसुन अदुवाको पेस्ट राखेर फेरी राम्रोसँग चलाउनुहोस् । अब मिक्सचरमा ग्राइण्ड गरेको टमाटर हालेर चलाउनुहोस् र नर्मल हिटमा दुइमिनेट जति छोपेर पकाउनुहोस् । अब यसमा रातो खुर्सानीको धुलो राख्नुहोस् र चलाउनुहोस् । अब दुइ कचौरा पानी राखेर दश देखि बाह्र मिनेट सम्म पकाउनुहोस् । त्यसपछि कुकरको बिर्को खोलेर आधा चम्चा गरम मसला राख्नुहोस् । अनि एकछिन पकाउनुहोस् । त्यसपछि धनियाँको पत्ताले सजाएर सर्व गर्नुहोस् ।

खसिको मासुको सेकुवा
सामाग्री : 
एक किलो खसिको बोनलेस मासु, एउटा प्याज ग्रेटरमा राखेर लेदो बनाउने, तेल आधा कप, दुइ चम्चा हनि, एउटा कागती, ५ वटा लसुन र दुई टुक्रा अदुवाको पेस्ट, एक चम्चा बेसार, दुइ चम्चा जिरा धनियाँको धुलो, नून, दुई सानो चम्चा चिल्लीफ्लेक्स, आधा चम्चा गरम मसला, स्वादको लागि एक चिम्टी टिमुरको धुलो ।

विधि :
एउटा भाँडोमा प्याजको पेस्टलाई राख्नुहोस्, त्यसपछि नून, चिल्ली फ्लेक्स, लसुन अदुवाको पेस्ट, बेसार, गरम मसला, जिराको धुलो, हनी, टिमुरको धुलो, आधा कप तोरीको या सन्फ्लावरको तेल यी सबैलाई राम्रोसँग मिक्स गर्ने, अब मसलामा मासु मिसाएर दुइ देखि तीन मिनेट सम्म चम्चाले चलाएर मिक्स गरिरहनुहोस् । त्यसपछि प्लास्टिक र्यापले र्याप गरेर कम्तिमा एक घण्टा यतिकै राख्नुहोस् । अब प्लासिटक र्याप निकालेर हल्का चलाउनुहोस् । अब फलामको सेकुवा बनाउने सुइरोमा मासु राख्दै अर्को प्लेटमा राख्नुहोस् । सेकुवा बनाउने भाडोलाई तयार गर्नुहोस् । कोइला रातो भएपछि मासु राखेको फलामको सुइरोलाई भाडो माथी राख्नुहोस् पाँच मिनेटमा सबैलाई पल्टाउनुहोस् । दुबै तर्फबाट राम्रोसँग पाकेपछि प्लेटमा निकाल्नुहोस् र धनियाँको अचारसँग सर्व गर्नुहोस् ।

खसिको भुटन
सामाग्री :
खसिको भुटनको लागि एउटा प्याज, ८ देखि १० वटा लसुनको पोटी र दुइ टुक्रा अदुवा, २ वटा हरियो खुर्सानी लाई लामो लामो गरेर फाइन आकारमा काट्नुहोस् । त्यसपछि दुई टेवल स्पुन जिरा र धनियाँको धुलो, नून स्वाद अनुसार, एक चम्चा बेसार, दुइ सानो चम्चा रातो खुर्सानीको धुलो (दालचिनी, सुकमेल, स्टारआनीज, मरिच, बेसार, सोफ, नून उसिन्नको लागि) खसिको आन्द्रा, कलेजो र भुडिलाई राम्रोसँग सफा गर्नुहोस् ।

विधि : 

एउटा भाँडोमा पानी बसाल्नुहोस्, त्यसपछि मासु उसिन्नको लागि छुट्टाएको मसला पानीमा राखेर चलाउनुहोस् । अब उम्लिएपछि आन्द्रा, भूडि, कलेजो सबै राखेर चलाउदै उसीन्नुहोस् । पल्टाई पल्टाई उसिन्नुहोस् र बीस मिनेट पकाउनुहोस् । यसो गर्दा चाडै पाक्छ । राम्रो सँग पाकेपछि आँचबाट निकाल्नुहोस्, अर्को भाँडोमा चिस्याउन राख्नुहोस् । राम्रोसँग चिसो बनाएपछि आफ्नो इच्छा अनुशारको टुक्रा बनाएर काट्नुहोस् । अब प्यानलाई तताउनुहोस् र तेल राख्नुहोस् तेल तातेपछि बेसार राखेर अनि त्यसमा टुक्रा बनाएको मासु राख्नुहोस् । भुटन बनाउँदा आँचलाई हाइ नै गर्नुहोस् । चलाएर फ्राइ गर्नुहोस् । पाँच मिनेट पकाएपछि नून, रातो धुलो खुर्सानी लगायत सम्पूर्ण मसला राखेर मिक्स गर्नुहोस् र चलाएर नै फ्राइ गर्नुहोस् । रातो रातो भएपछि लसुन, अदुवा, प्याजको टुक्रा राखेर राम्रोसँग चलाउनुहोस् र धनियाँको पातले सजाएर सर्व गर्नुहोस् ।

मटर पनीर
सामाग्री :
२०० ग्राम पनीर डाइस आकारमा काटेको, एक कटौरा हरियो मटर, ३ वटा टमाटर, एउटा प्याज टुक्रा बनाई काटेको, चार पोटी लसुन, सानो टुक्रा अदुवा, धनियाँ र जिरा दुइचम्चा, थोरै दालचिनी, तेजपत्ता, सुकमेल, ल्वाङ्, आधा चम्चा बेसारको धुलो, तेल आधा कप, आधा कप दही, मसिनो गरी काटेको धनियाँको पत्ता, खुर्सानीको धुलो,

विधि :
पेनमा तेल तताउनुहोस् । तेल तातेपछि जिरा र धनियाँलाई फुराउनुहोस् । त्यसैगरी दालचिनी, तेजपत्ता, सुकमेल, ल्वाङ्, मरिचलाई फुराउनुहोस् । अदुवा र लसुनलाई पनि फुराउनु पर्छ । गोल्डेन ब्राउन भएपछि बेसार र प्याज राखेर राम्रोसँग फ्राइ गर्नुहोस् । खैरो भएपछि टमाटर राखेर राम्रोसँग चलाउदै मिडियम आँचमा तीन मिनेट ढाकेर पकाउनुहोस् । राम्रोसँग पाकेपछि मिक्सचरमा राखेर मिक्स गर्नुहोस् । ग्रेभी तयार हुन्छ त्यो ग्रेभीलाई तातो प्यानमा खनाउनुहोस् । त्यसमा थोरै पानी राख्नुहोस् । मधुरो आँच बनाउनुहोस् । अब मटर हाल्नुहोस् र चलाउदै एकछिन पकाउनुहोस् । त्यसपछि पनिर राख्नुहोस् । पनिरलाई तेलमा खैरो बनाएर तारेर पनि राख्न सक्नुहुन्छ । स्वाद अनुशार नून, खुर्सानीको धुलो राखेर राम्रो सँग चलाएर अब पाँच मिनेट जति छोपेर पकाउनुहोस् । यसलाई अझ स्वादिलो बनाउनको लागि दहि र धनियाँ पत्ता राखेर चलाउनुहोस । अब मटर पनिर तयार भयो यसलाई खाना सँग सर्व गर्नुहोस् ।

  • देवकी पौडेल
    धादिङ