कोन्ज्योसोम गाउँपालिकामा ४ दिने नमुना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु

ललितपुर : एक दशकदेखि बालबालिका, किशोरकिशोरी र युवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था युवालयको आयोजनामा, कोन्ज्योसोम गाउँपालिकाको सहयोग र राष्ट्रिय युवा परिषदको समन्वयमा कोन्ज्योसोम चौघरे, ललितपुरमा ४ दिने नमुना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रमको सुरुवात भएको छ ।

छनोट भएका गाउँपालिकाका २४ जना युवालाई ४ दिनसम्म गाउँसभाका बारेमा अभिमुखीकरण दिने र अभ्यास पनि गराइने प्रशिक्षकद्वय अविनाश कार्की र एंजल मगरले बताए ।

४ दिने प्रशिक्षण तथा अभ्यास कार्यक्रमको पहिलो दिन आज उद्घाटन सत्रमा सहभागी कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्ण मान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा, युवालयका कोषाध्यक्ष धर्मराज रिमाल लगायतले कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गरे । गाउँपालिकाका शिक्षा शाखा प्रमूख विष्णुप्रसाद आचार्यले कार्यक्रमको उद्देश्य बताएका थिए ।

आयोजक संस्था युवालयका कार्यकारी निर्देशक संजीव अधिकारीले युवाहरूलाई गाउँसभा प्रशिक्षण, संसदीय अभ्यास जस्ता कुराहरूमा संस्थाले काम गर्दै आइरहेको र धेरैभन्दा धेरै संख्यामा युवालाई प्रभावकारी अभिमुखीकरण दिने उद्देश्य रहेको बताए ।