कास्कीमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्की : कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले सौन्दर्य​ पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाए । कास्कीमा उत्साह जनक रूपमा मतदान सुरु भएको छ ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरि २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् ।

गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदानस्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र रहेका छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् ।