चितवन : मतगणना स्थलमा तारजाली र सिसीटिभी क्यामेरा

निराज रानाभाट
चितवन : चितवन जिल्लामा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । चितवन जिल्लाको ३ वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरि तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणना स्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।

चितवन क्षेत्र नम्बर १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ ४ ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै, चितवन क्षेत्र नम्बर २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए । सो ठाउँमा मंसिर ०२ गते, शुक्रबार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए । चितवन क्षेत्र नम्बर २ को ४ ठाउँमा मतगणना गर्ने गरि तयारी गरिएको छ ।

यस्तै, चितवन क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ २ ठाउँमा मतगणना गर्ने गरि संरचना निर्माण गरिएको छ । अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए । उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए । उनले सबै ठाउँमा आवश्यकतानुसार कर्मचारीहरु खटाइएको बताए ।