राजधानीको बालाजुमा बाटो हिँडिरहेकी एक महिलामाथि लुटपाट, दुई जना पक्राउ

काठमाडौं : राजधानीको बालाजुमा बाटो हिँडिरहेकी एक महिलाको झोला लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । बालाजुस्थित कुमारी स्थान सडकमा पैदल हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार व्यक्तिले धक्का दिइ उनले बोकेको झोला लुटेर फरार भएका थिए ।

उनको झोलामा रहेको नगद, मोबाइल तथा महत्वपूर्ण कागजात लुटिएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा राजधानीको मनमैजु र बानियाटारबाट रामेछाप घर भई टोखा बस्ने सागर दर्जी र तारकेश्वर नगरपालिकाका अमिर महर्जनलाई पक्राउ गरेको कार्यालयले आइतबार जनकारी दिएको छ । उनीहरुको साथबाट खुकुरी र लागुऔषध समेत फेला परेको छ । प्रहरीले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।