सामान्य विवादमा पक्राउ गरिएको भन्दै स्थानीयले गरे रिद्धिसिद्धि उद्योग बन्द

दीक्षान्स खड्का
मकवानपुर : हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग स्थानीयले बन्द गराएका छन् । प्रशासनका कर्मचारी र स्थानीयसँग बुधबार छलफलका क्रममा सामान्य विवाद हुँदा एक जना स्थानीयलाई प्रहरीद्वारा पक्राउ गरिएको विरोधमा विहीबार स्थानीयले उद्योग बन्द गराएका हुन् ।

आज विहानैदेखि उद्योग गेट परिसरमा ठूलो संख्यामा जम्मा भएका स्थानीयले उद्योगको गेट बन्द गरि आयात निर्यात ठप्प पारेका छन् ।

हाल इन्धनको मूल्य वृद्धि भएकोमा उद्योगबाट हुने सामान ढुवानीको भाडा वृद्धि हुनुपर्ने माग लिएर स्थानीय ढुवानी व्यवसायी विक्रम दोङसहित अन्य ढुवानी व्यवसायी छलफलकालागि उद्योगमा पुगेका थिए । उद्योगमा छलफलका क्रममा उद्योगका कर्मचारी पीआरओ अच्युत पराजुलीसँग केहि विवाद भएको र बेलुका उद्योग प्रशासनका तर्फबाट प्रहरी बोलाएर स्थानीय विक्रम दोङलाई पक्राउ गरिएको अर्का ढुवानी व्यवसायी स्थानीय उमेश स्याङबोले जानकारी दिए ।

छलफलका क्रममा सामान्य विवाद भएको र धकेलाधकेल भएको उद्योगमै कार्यरत कर्मचारी स्थानीय भेषबहादुर स्याङतानले बताए ।पक्राउ परेका स्थानीय ढुवानी व्यवसायी विक्रम दोङलाई रिहा नगरेसम्म उद्योगको आयात निर्यात बन्द यथावत रहने तथा संघर्ष जारी रहने ढुवानी व्यवसायी स्याङबोले बताए ।