सर्लाही : १५ लाख नदिँदा छिमेकीले गरे बालकको हत्या, ७ जना पक्राउ

सर्लाही :  सर्लाहीमा सेप्टिक ट्यांकीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनकाे हत्या भएको प्रहरीले दाबी गरेको छ ।

मलगंवा नगरपालिका १२ गम्हरिया बस्ने दिपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो ।

आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

आकाश वेपत्ता भएको सन्दर्भमा प्रहरीले अनुसन्धान गर्दै जाँदा बालकको परिवारसँग फेसबुक म्यासेन्जरमार्फत् १५ लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीको दाबी छ ।

‘आकाश वेपत्ता भएपछि साउदी अरबमा रहेका उनका मामा पर्नेको म्यासेन्जरमा फिरौती मागेर सन्देश पठाएको पाइयो’, सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले भने, ‘आकाश चाहिन्छ भने तुरुन्त १५ लाख पठाइदेऊ भनेका रहेछन् ।

उनीहरुले मागेको रकम तत्कालै नपाउँदा सात जना मिलेर बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको बुढाथोकीले बताए ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक पनि नगरेको छ । उनीहरुलाई पक्रेर सोधपुछ गर्दा आकाशलाई जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगेर हत्या गरेको स्वीकारेका डीएसी बुढाथोकीले बताए ।

‘उनीहरुले बालकको हत्या गरी प्लाष्टिकको बोरा भित्र शव राखेर जगदीशकै शौचालयको सेप्टिक टंयाकी भित्र हालेको देखियो’, बुढाथोकीले भने ।

पक्राउ पर्नेमा मलंगवा १२ गम्हरिया बस्ने ६० वर्षीय जगदीशसहित, उनका छोरा २१ वर्षीय कृष्ण ठाकुर, कृष्णकी १८ वर्षीया पत्नी निरुता शर्मा तथा २५ वर्षीय संगिता बडही, ५० वर्षीय नेवा ठाकुर, करियकबा भनिने सुनिल बडही र वडा नं. ११ बस्ने २१ वर्षीय राकेश ठाकुर रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको बुढाथोकीले बताए ।

यो पनि पढ्नुस 

सर्लाही : छिमेकीको सेप्टिक ट्यांकीमा बालकको शव भेटिएपछी ..