कांग्रेस बैठकमा उठ्यो एमालेसँग गठबन्धनको प्रस्ताव !

काठमाडौं : शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ।

सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन्।

केन्द्रीयस्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरुले स्थानीयस्तरमा गठबन्धन गर्दा एमालेसँग गर्न आवश्यक रहेको बताएका हुन्। उनीहरुले आवश्यकता अनुसार एमालेसँग पनि गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए।

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका कतिपय स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए । माओवादीविरुद्ध एमालेको साथ आवश्यक रहेको उनले बैठकमा बताएका थिए ।

अहिले कम्युनिस्ट पार्टीमा विभाजन आएको बेलामा एक्लै चुनाव लड्न उपयुक्त भए पनि कतिपय स्थानमा माओवादीविरुद्ध एमालेसँग मिल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

त्यस्तै केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पनि कतिपय स्थानीय तहमा जित हात पार्नका लागि एमालेसँगको गठबन्धन आवश्यक रहेको बताइन्। स्थानीयस्तरको राजनीतिक अवस्थालाई ध्यान दिएर चुनावी गठबन्धन गर्नु पर्ने उनको भनाइ थियो। सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हात पार्न एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

बैठकमा बोल्ने धेरैजसोले केन्द्रबाट गठबन्धनको निर्णय गर्न उपयुक्त नभएको धारणा राखेका थिए। तर देउवाले भने एक्लै लड्दा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने चुनौती रहेको बताएका थिए ।

कांग्रेको बैठक आइतबार पनि बस्नेछ।

कांग्रेसमा हालको सत्ता गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने वा नदिने भन्नेमा दुई लाइन देखिएको छ। नेता शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेको छ र उसले केन्द्रबाट गठबन्धनको निर्णय गर्न नमिल्ने बताएको छ। उता देउवा भने गठबन्धनमा जोड दिइरहेका छन् ।