म आफुले आफैँलाई धन्यवाद दिन चाहन्छु : बरिष्ठ नेता पौडेल

 

मिलन तामाङ
दमौली : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले आफैँलाई धन्यवाद दिएकाे छ । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयेजना गरेको आठौं तनहुँ महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफुले आफैँलाई धन्यवाद दिएका हुन् ।

‘एमसीसीको पक्षमा बोल्न कसैले आँट गरेका थिएनन् । एमसीसी राष्ट्रघाती हो । के के हो भनेर दुनियाँभरको प्रचार गरिएको थियो । त्यस्तो अवस्थामा एमसीसीको पक्षमा खुला रुपमा पास गर्नुपर्छ भनेर मैले जनमत सिर्जना गर्न मुख खोलेकोमा, मुख खोल्न नसकेकाहरूको मुख पनि खुलाइदिएकोमा म आफैँलाई पनि धन्यवाद दिन चाहान्छु’, उनले भने ।

नेपालमा विद्युत् विकास गरेर मुलुकको गरिबीलाई उन्मुलन गर्ने महत्वपूर्ण अनुदान दृढतापूर्वक एमसीसी अनुमोदन पारित गराएर छाड्ने अठोट लिएकोमा प्रधानमन्त्री देउवालाई नेता पौडेलले नेपाली जनताको तर्फबाट भन्दै बधाई दिए ।

अब गाउँबाट बेरोजगारी र गरिबी हटाउनुपर्ने बेला भएको नेता पौडेलको भनाइ छ । अगाडि थप्दै उनले भने, ‘हामीले गाउँमा बसौँ बसौँ भन्ने नारा लगायौँ । तर गाउँबाट अझै पनि पलायन भइरहेको अवस्था छ । गाउँमा पूर्वाधार पुगेका छन् तर गाउँबाट मान्छे तल झरिरहेका छन् । तिनलाई त्यहीँ रोक्नका लागि अब गाउँमै आम्दानी र रोजगारीको सिर्जना गर्नुपर्दछ ।