चितवन महोत्सवमा स्टल राखेकालाई ५० प्रतिशत रकम फिर्ता गरिने

निराज रानाभाट , चितवन : चितवन महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरिएको छ । चितवन महोत्सव मूल आयोजक समितिको पुस २७ गते , मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसँगै मंगलबार उद्योग वाणिज्य संघ चितवनले बैठकबाट यस्तो निर्णय गरेको मूल आयोजक समिति संयोजक राजु श्रेष्ठले बताए । महोत्सवको समयावधी अगावै महोत्सव समापन गनुपर्ने अवस्था रहेकाले स्टल व्यवस्थापन खर्च कटाएर रकम फिर्ता गर्ने निर्णय गरिएको उनले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको नेतृत्वमा पुस २६ गते , सोमबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन समन्वय केन्द्र र सर्वदलीय सर्वपक्षीय बैठकले जारी व्यवस्थापन समय सहित चितवन महोत्सव २ दिन चल्न दिने र अरु महोत्सव रोक्ने निर्णय गरेको थियो ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव पुस २५ गते , आइतबारदेखि नारायणगढस्थित नारायणी नदी किनारमा शुरु भएको हो । आउँदाे माघ ०४ गते सम्म चल्ने गरि शुरु भएको महोत्सव चौथो दिनमै समापन गरिने भएको छ ।