सुजाताले राजनीतिक छलाङ मार्न सक्ने, नयाँ दाउ हेर्दै

काठमाडौं :  नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा सुजाता कोइरालाको छुट्टै पकड छ । नेपालको वर्तमान राजनीतिमा शक्तिशाली मध्येको महिला हुनु र पिता गिरिजाप्रसाद कोइराला सत्ताको केन्द्रमा लामो समय रहनुले उनको प्रभाव कायमै रहेको हो ।

सुजाताको नजिक रहेका देशभरका कार्यकर्ता छरिएको अवस्थामा छन् । कार्यकर्तालाई संरक्षण गर्ने स्वभाव र उनको पिता गिरिजाप्रसादको योगदान सम्झेर पनि साथ दिनेहरु अझै छन् । काँग्रेसको आन्तरिक राजनीतिमा अलग पहिचान र प्रभाव रहेकी सुजाता अचानक प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । यसले धेरैलाई आश्चर्यमा पारेको थियो ।

शेखर कोइरालाको छुट्टै प्यानल बन्दा सुजाता प्रकाशमान सिंहको प्यानलमा उपसभापतिको उम्मेदवार छिन् । उनको उम्मेदवारी आफैमा आकर्षण र चर्चाको विषय बनेको छ ।

यतिबेला धेरैले सुजातासँग रहेको व्यक्तिगत मतको गणना गर्न थालेका छन् । यसले प्रकाशमान सिंह दोस्रो राउन्डमा पुग्ने या नपुग्ने निर्धारण गर्नेछ । सुजातासँग रहेको भित्री मत उत्तिकै महत्वपूर्ण छ । यो मतले शेखर कोइरालालाई निकै असर पर्न सक्छ ।

सुजाता आफै प्रकाशमान सिंहको प्यानलमा छिन् । धेरैले उनलाई काँग्रेसको अबको उपसभापतिका रुपमा देख्न थालिसकेका छन् । काँग्रेसमा यसपटक ठूलो संख्यामा महिला प्रतिनिधि बनेर आएका छन् । ठूलो संख्यामा त्यस्तो मत पनि सुजातालाई जानसक्छ । यसकारण पनि उनी उत्साही छिन् ।

महिलाको विषयमा सुजाताले जोडदार आवाज उठाउँदै आएकी छिन् । महाधिवेशनको पूर्वसन्ध्यामा पनि पदाधिकारीमा महिला अनिवार्य हुनुपर्ने आवाज उठाइन् । यसले महिला मतदातामाझ उनको क्रेज बढ्यो ।

सुजाताले विशेषगरी महिला मत तान्न सक्ने देखिएको छ । यसमा उनी सफल भएमा उपसभापतिमा बाजी मार्न सक्छिन् । कोइराला परिवारबाट सुजाता नै भविष्यमा शक्तिशाली बन्ने सम्भावना विकास भएको छ ।

उपसभापतिमा विजयी हुने सुजाताको सम्भावना बलियो देखिएको छ । यो सम्भव भएमा सुजाताले राजनीतिमा फड्को मार्न सक्छिन् । अर्कोतर्फ, कोइराला परिवारभित्रबाट उनी सबैभन्दा शक्तिशाली बन्ने सम्भावना रहन्छ । सुजाताले यसपटक राजनीतिक छलाङ मार्ने सम्भावना बढेको छ ।