नेपाली चलचित्र‘म यस्तो गीत गाउँछु २ ’ माघ १९ गतेदेखि रिलिज हुने

काठमाडौं : नेपाली चलचित्र ‘ म यस्तो गीत गाउँछु २ ’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको थियो तर , वि.सं. २०७६ साल फागुण ३० गते रिलिज हुनुपर्ने यो चलचित्र कोरोना महामारीको सबैभन्दा ठूलो चपेटामा पर्यो ।

चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएको करिब २० महिनापछि निर्देशक सुदर्शन थापाले नयाँ प्रदर्शन मिति घोषणा गरेका छन् । यो चलचित्रलाई निर्माणपक्षले माघको १९ गते अर्थात फ्रेबुअरी २ तारिखबाट रिलिज गर्ने घोषणा गरेको छ ।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले माघको १९ गतेदेखि चलचित्र रिलिज हुने जानकारी दिए । उनले भने – ‘ दर्शकले चलचित्रको प्रतिक्षा गरिरहनुभएको छ । यसैले , यो प्रेम कथाको चलचित्रलाई हामीले प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेका हौँ । ’

सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो चलचित्रका सह – निर्मातामा जन्म जय सम्पाङ राई रहेका छन । चलचित्रमा नायिका पूजा शर्मा , नायक पल शाहको साथमा कलाकारहरु हरिहर शर्मा , दिनेश डीसी , राजा राजेन्द्र पोखरेल , गणेश गिरी लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा सौरभ लामाको छायांकन , रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको चलचित्रमा सुदर्शन थापाको कथा , बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।चलचित्रमा समावेश ‘ तिम्रो घरको वरिपरी र दुःखको काँडा ’ बोलको गीत सुपरहिट भैसकेको छ । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् ।

निषेधाज्ञापछि प्रदर्शक र वितरकले चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ‘ म यस्तो गीत गाउँछु २ ’ लाई प्राथमिकतामा राखेका थिए । ‘ म यस्तो गीत गाउँछु ’ लाई दर्शकले अत्याधिक मन पराएका थिए । यसैको सिरिजको रुपमा तयार भएको लभ स्टोरी चलचित्र निर्देशनमा सर्वाधिक अगाडि रहेका सुदर्शन थापाको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नै नयाँ मोड दिने आशा गरिएको छ ।