पलम्बर र रुक्मणी’को मिथ’माथि नाटक ‘पचली भैरब’

काठमाडौँ : काठमाडौँ’को विभिन्न परिचय मध्य एक परिचय हो ‘मन्दिरै मन्दिरको सहर’ अर्थात् भगवान्हरूको रोजाइको स्थान । संसारभरका आस्तिक समुदायको लागि  यो सहर धाम जत्तिकै छ । सहरमा बसोबास गर्ने विभिन्न समुदायको आ-आफ्नो आस्था छ र तिनीहरू सबैको आस्था रहेको भगवानाहरुको आ-आफ्नै महत्त्व र कथा छन् । तिनै भागावानहरू मध्य एक हुन् ‘पचली  भैरव’ जसलाई विशेषत: नेवार समुदाय’ले आफ्नो रक्षक को रूपमा पुज्छन् । टेकु स्थित पंचलिंगेश्वर (पाँचवटा लिङ्ग आफै उत्पत्ति भएको ठाउँ/अपभ्रंश भएर हाल पचली भएको) मा अवस्थित ‘पचली भैरव’ को मिथक फरक मान्छेसँग फरक-फरक छन् । तिनै फरक फरक कथा/घटनाहरूलाई एउटा मालामा उनेर सबैसामु पस्किने तैयारीमा जुटिरहेछन् यतिबेला ‘पचली भैरव’ नाटक’का कथा सङ्कलक/निर्देशक चन्द्रमान मुनिकार,नाट्यरुपान्तरण/सहनिर्देशक इंगिहोपो कोइच सुनुवार र कलाकारहरू । यस सांस्कृतिक नाटकलाइ बज्र कला कुञ्जले निर्माण र प्रस्तुत गरेको छ  ।

पहिलो किराँत राजाका रूपमा मानिँदै आएका यलम्बरलाई आकाश भैरवका रूपमा नेवार समुदायले पुज्दै आएको छ। टेकुस्थित पचली भैरवलाई भने किराँत वंशको दोस्रो राजा पलम्बरका रूपमा समेत लिइन्छ। नाटक त्यही पलम्बर अर्थात् ‘पचली भैरव’ माथि हो।

यलम्बर जत्तिकै तन्त्र साधना र शक्ति भएका राजा थिए पलम्बर पनि। फर्पिङसँगै भोत (बनेपा)  का राजा रहेका उनी एकै दिनमा काशीमा गएर स्नान गरेर फर्पिङमा आएर राज गर्थे भनिन्छ। दिनभर राज गरेर थकान मेटाउन उनी वाग्मती नदी किनारमा रहेको पंचलिंगेश्वर क्षेत्र मा आराम गर्न आउँथे। ध्यान र तन्त्र साधना गर्थे मनुष्यको भेषमा। त्यहीँ घुम्दै गर्दा ‘पचली भैरव’को भेट त्यहाँकी एक राम्री युवतीसँग हुन्छ। ती युवतीको नाम हुन्छ रुक्मिणी। पछि उनलाई नै ‘नई अजिमा’का रूपमा पुज्न थालियो।

मिथक अनुसार आराम गर्न र साधना गर्न पंचलिंगेश्वर क्षेत्रमा आउने क्रममा उनीहरू ‘पलम्बर र रुक्मिणी’ बिच आकर्षण र प्रेम हुन्छ । उनीहरू बिच शारीरिक सम्बन्ध स्थापित हुन्छ र रुक्मिणी गर्भवती हुन्छे । समाजमा आफू चरित्रहीन साबित हुने डरले भयभीत रुक्मिणीलाई पलम्बर’को बारेमा केही थाह हुँदैन,त्यसैले रुक्मिणीले उनलाई आफ्नो बारेमा सत्य भन्न कर गर्छिन्, पलम्बरले कुरा टार्न खोजेपछि आफू गर्भवती भएको कुरा बताउँछिन् र उनलाई सत्य भन्न कर लाग्छ । पलम्बर ले एक मुट्ठी अक्षता’मा मन्त्र फुकेर आफूलाई फेरी मानव स्वरूपमा फर्काउन अक्षताले आफूलाई हान्नु भनेर अक्षता रुक्मिणीको हातमा राखिदिँदै उनी आफ्नो असली रूप ‘पचली भैरव’मा आउँछन् । उनलाई देखेर रुक्मिणी डराउँछिन् र चामल जम्मै चपाएर निल्छिन् । रुक्मिणी डरले त्यहाँबाट भाग्छिन्, भैरव रातभर रुक्मिणीको खोजीमा लाग्छन्,उनलाई कतै नभेटेपछि बिहानीपख उनी  पचली पीठ क्षेत्रमा पुग्छन् र मान्द्रोले शरीर छोपेर त्यही सिद्ध हुन्छन् । त्यसपश्चात् उनी ‘पचली भैरव’ को रूपमा परिचित हुन्छन् ।

रुक्मिणीले छोरो पाउँछे, उ समाजमा चरित्रहीन कहलिन्छे, सन्तान’ले आफ्नो बाउ’को खोजी गर्छ,उनले सम्झाउन खोज्छिन् बच्चा’ले जिद्दी गरेपछि उनी ‘पचली भैरव’पुकार्न पुग्छिन् ‘पचली भैरवले स्वीकार गरे पनि पुन समाजले उनलाई स्विकार्दैन र उनी छोरो साथमा लिएर उक्त ठाउँ छोडेर हिँड्छिन् । बाटोमा विभिन्न अवरोधहरू आइपर्छन्,तिनीहरूको सामना गर्दै जाँदा एक ठाउँमा पुगेपछि छोरो बिरामी भएर मर्ने स्थितिमा पुग्छ रुक्मिणीले आफ्नो शक्ति प्रयोग गरी नयाँ सृष्टि गरी छोरोलाई बचाउँछे ।  उनीहरू कुनै गाउँमा पुगेर बस्छन् ।

मुनिकारका अनुसार नाटक मार्फत सामाजिक सद्भाव बढाउनु र सबैले समान अधिकार प्राप्त गर्न सक्ने समाज निर्माण होस् भन्ने कुरा नै नाटक मार्फत भन्न खोजिएको छ । सहनिर्देशक सुनुवार भन्छन् “सबै प्रकारको दर्शकले हेर्ने हुनाले सबैले विभेद रहित समाजको कल्पना गरुन् भन्ने सन्देश सहित हाम्रो संस्कृति लाई पनि चलायमान राख्न यस्ता प्रकारका गतिविधिहरू भइरहन जरुरी छ”

नाटक ‘पचली भैरव’ र ‘नई अजिमा’ को जीवनका मिथकसँग  हुबहु रहेपनि,यसको प्रस्तुतिमा भने संस्कृति सँग जोड्ने नृत्य र परम्परागत नाट्य शैलीलाई परिमार्जन गरिएको छ । नाटकभित्र ‘पचली भैरव र नई अजिमा’को जीवन सँगै सामाजिक कुरीति र कुसंस्कारहरू हट्नुपर्छ भन्ने भाव भेटिन्छ । पुरानो मिथक भएपनि वर्तमान समयसँग मिल्ने परिबेस भेटिन्छ । समग्रमा नाटक ‘पचलि भैरव’ मा समाज,राष्ट्र,समुदाय र व्यक्ति र तिनीहरूसँग हुने सम्पूर्ण भावनाहरू भेटिन्छ ।

शृङ्गार,वीर,करुण,हास्य,रौद्र,भयानक,अद्भुत,विभत्स,शान्त जस्ता नौ वटै रस देख्न पाइन्छ ।

नाटकमा सुदनमान मुनिकार, श्रीष्टिना मुनिकार,अनीश श्रेष्ठ,नानुमैया महर्जन,सङ्गीता थापा,पवित्रा राई,सृजना शर्मा,युवाहाङ राई,रोशनी चौधरी,करिना सुनुवार र इंगिहोपो कोइच सुनुवारको अभिनय देख्न सकिन्छ ।

पचली भैरवको मन्दिरदेखि नजिकै टेकु मा रहेको कौशी थिएटरमा नाटक कात्तिक २५ देखि मङ्सिर ४ गतेसम्म हरेक दिन साँझ ५:३० बजे (अतिरिक्त मञ्चन शनिवार दिउँसो १ बजे पनि) मञ्चन हुँदै छ ।

उनै ‘पचलि भैरव’ को वासस्थान नजिक मञ्चन गर्न पाउनु संयोग भएको बताउँछन् कथा सङ्कलन /निर्देशक मुनिकार ।