आरोहण गुरुकुलमा नाटक “दाय–कन्तुर”को मञ्चन शुरु

विराटनगर : विराटनगर स्थित आरोहण गुरुकुलमा कार्तिक २१ देखि  नाटक “दाय–कन्तुर”को मञ्चन शुरु भएको छ । पद्मश्री सम्मानबाट विभूषित भारतीय लेखक दया प्रकाश सिन्हाको समसामयिक व्यङ्ग्य नाटक अपने अपने दाँवलाई नेपाली रुपान्तरण गरी तयार गरिएको नाटकले समाजमा देखापरेको विकृत तथा विसङ्गत स्वार्थ, लोभलाई देखाउने प्रयास गरेको छ ।

आरोहण गुरुकुलले तयार गरेको उक्त नाटकमा सङ्गिता यादव, समिक्षा दाहाल, जीवन बस्नेत, अनुपमा बास्तोला, विकास पराजुली, अनु खतिवडा, प्रज्ज्वल दुलाल, अनिल खत्री, देवेन्द्र यादव, अमन धमला र गणेश साहको अभिनय रहेको छ ।

नाटकको पहिलो मञ्चनअघि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा मञ्चन भइरहेको उक्त नाटक कात्तिक २७ गतेसम्म मञ्चन हुने गुरुकुलले जनाएको छ ।