दीपावलीको अवसरमा केराबारीको जोरधारामा भव्य साङ्गीतिक कार्यक्रम

केशु विरही
मोरङ : दीपावलीको अवसर पारेर केराबारीमा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । केराबारी ९ देवीझोडामा हालै खुलेको ‘जोरधारा’ रेस्टुरेन्टले बिहिवार दीपावलीको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले साङ्गीतिक (साँझ) कार्यक्रमको आयोजना गरेको हो ।

स्थानीय कलाकारहरू निसान सुन्चेउरी आमोस कार्की र सन्देश रनपहेलीकोसमेत प्रस्तुति रहेको कार्यक्रममा द्रव्य ब्यान्ड (बेलबारी)को बेजोड प्रस्तुति रहेको थियो । साङ्गीतिक कार्यक्रममा किशोर किशोरीदेखि लिएर ७६ वर्षीय स्थानीय शुक्रराज लिम्बूसमेत चाख दिएर गीत–सङ्गीतमा रमाइरहेका थिए । तरुण तन्नेरीहरूले नाचेको हेरेर उनी पनि रमाइरहेका थिए ।
उनी भन्दै थिए –मेरो घर यही नजिकै हो । मनले मानेन त्यही भएर रमाइलो हेर्न आएको ।’

प्रौढ तथा बृद्धबृद्धाको केही उपस्थिति रहे पनि उक्त अवसरमा विशेष गरेर युवाहरूको जमात नै बढी देखिन्थ्यो । युवाहरू गीतको तालमा झुलिरहेका थिए । अर्थात् उनीहरू गीत–सङ्गीतको तालमा हराउँदै ‘वान्समोर वान्समोर’ भनेर कलाकारलाई हौस्याइरहेका थिए । कलाकारहरू पनि दर्शकका रोजाइका गीत पस्किरहेका थिए ।

यस अघि यस्ता साङ्गीतिक कार्यक्रम हेर्न केराबारीवासीले टाढा जानु पर्थ्यो । तर यस पटक भने जोरधाराले स्थानीयलाई आफ्नै स्थानमा रमाउने अवसर प्रदान गरेको थियो । टाढा टाढा गएरभन्दा पनि आफ्नै ठाउँमा रमाइलो गर्न पाएकोमा स्थानीयहरू पनि मक्ख थिए ।

त्यसो कार्यक्रममा केराबारीका मात्र नभएर बेलबारी, सुन्दरहरैँचा तथा अन्य स्थानीय पालिकाबाट पनि दर्शकहरू नआएका भने होइनन् । तर बाक्लो उपस्थिति भने स्थानीयकै थियो ।
बुधवार ओपनिङ्ग र त्यसको भोलिपल्ट दिवावली परेकोले जोरधारा रेस्टुरेन्टमा मानिसको राम्रो जमघट देखिन्थ्यो । केराबारी ९ देवीझोडामा घर भई हाल काठमाडौँ बसेर बीएस्सीको अध्ययन गर्दै गरेकी खुस्वु राई जोरधाराले साथीभाइसँग भेट्ने एउटा राम्रो अवसर प्रदान गरेको बताउँदै थिइन ।

बेलबारीबाट साङ्गीतिक कार्यक्रमको रमाइलो हेर्न आएका सञ्चारकर्मीसमेत रहेका रमेश क्षेत्री सञ्चालकहरूलाई व्यावसायिक सफलताको शुभकामना दिँदै भने ‘हिजो ओपनिङका दिन आउने मन भए पनि नभ्याएर आज (दीपावलीका दिन) आइयो ।’
जमघट राम्रो भएकोले रेस्टुरेन्टका कर्मचारीलाई अडर लिन भ्याई नभ्याइ देखिन्थ्यो । सञ्चालकहरू आफै पनि अडर लिने र काउन्टरमा खटिरहेका थिए । यो जमघटलाई व्यावसायिक सफलताको द्योतक ठानेका सञ्चालकहरू भने खुसी देखिन्थे । जोरधारा रेस्टुरेन्टको बुधवारबाट मात्र सञ्चालनमा आएको हो ।

डेढ करोडको लगानीमा सञ्चालन गरिएको यो रेस्टुरेन्ट बुधवार मात्र उद्घाटन भएको हो । बुधवार एक कार्यक्रमबिच केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले रेस्टुरेन्टको उद्घाटन गरेका थिए । आफ्नै गाउँमै केही गरौँ भन्ने अभिप्रायका साथ केराबारी ९ देवी झोडाका स्थानीय अमर राई, मिम लिम्बू, पदम कार्की, गणेश तामाङ र बेलबारी ३ का निसान बुढाथोकीको संयुक्त लगानीमा जोरधारा रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।
यो समूहमध्ये अमर र मिम लामो समय कोरिया बसेर नेपाल फर्किएका व्यक्ति हुन् भने निसान र पदम भने नेपालमै रहेर व्यक्तिगत रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यक्ति हुन् । निसान एक इन्भेष्टर हुन भने पदम पर्यटन व्यवसायी हुन् ।

इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरिरहेका बेलबारीका निसान बुढाथोकी आफ्ना लागि होटेल लाइन नयाँ भए पनि पर्यटनसँग जोडिएको हुनाले यसको राम्रो भविष्य रहेको बताउँछन् ।

उनी भन्छन् ‘पर्यटन व्यवसायबाटै आफ्नो क्यारियर सुरु गरे पनि यो क्षेत्रमा मेरो लगानी भने पहिलो हो । तर पर्यटनसँग जोडिएको पेसा भएकोले यसमा राम्रो भविष्य देखेको छु । समूहमा काम गर्दाको यो नौलो र फरक अनुभव पनि हुनेछ ।’

नयाँ पहिचान बनाउँदै द्रव्य ब्यान्ड

वि.स. २०७४ सालमा बेलबारीमा स्थापना भएको ‘द्रव्य ब्यान्ड’ पछिल्लो समय साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा छ । स्थापनाको छोटो अवधिमै यसले साङ्गितिक क्षेत्रमा आफ्नो गतिलो उपस्थिती देखाइसकेको छ । यस अवधिमा यसले एउटा म्युजिक भिडियो सार्वजनिक गरिसकेको छ भने अब चाँडै दुई वटा भिडिया सार्वजनिक गर्ने तयारीमा रहेको ब्यान्ड म्यानेजर हरि गुरुङ बताउँछन् ।
द्रव्य ब्यान्डमा भोकलिष्ट टिकाहाङ्ग लिम्बू रहेका छन् भने वेस्ट गिटारिस्टमा अभय थापा मगर रहेका छन् । गिटारमा सुरज तामाङ, करण गुरुङ र ड्रममा संजय गुरुङ साथ दिइरहेका छन् ।