सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने

काठमाडौं : विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवर्द्धन गरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको छ ।

सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषि जन्य, वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग खोल्न सकिने प्रावधान छ । विशेष आर्थिक क्षेत्र नियमावली २०७४ मा सेजभित्र स्थापना गर्न सकिने उद्योगको सूची थियो । सो नियमावलीमा संशोधन गर्दै सरकारले अब खोल्न नसकिने सूची समेत थप गरेको हो ।

थपिएको सूची अनुसार अब सेजमा चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तुको उत्पादन गर्ने उद्योग खोल्न पाइने छैन । ब्राण्डी, साइडर, वियर, वाइन तथा मदिराजन्य उत्पादन गर्ने उद्योग समेत सेजमा खोल्न अनुमति पाइने छैन । विष्फोटक पदार्थ उत्पादन गर्ने र गोलीगठ्ठा, हातहतियार तथा बारुद उत्पादनको अनुमति समेत सेजभित्र नपाइने गरी नियमावलीले तोकेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावलीमा पहिरो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले निर्यात प्रवर्द्धन, व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्याउने विशेष सहुलियत दिने गरी सेजको अवधारणा ल्याएको हो । तर, अपेक्षा गरे अनुसार सेजमा उद्योगीहरु आकर्षित भने हुन सकेका छैनन् ।

न्यूनतम स्थिर पुँजी दुई करोडमा झारियो

सेजमा स्थापना हुने उद्योगको न्यूनतम स्थिर पुँजीसमेत दुई करोड रुपैयाँमा झारिएको छ ।

मन्त्रालयका अनुसार अब विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति पत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा दुई करोड रुपैयाँ र विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी प्रचलित कानूनमा तोकिए अनुसार पुँजी पुर्‍याएमा सेजमा उद्योग स्थापना गर्न सक्ने भएका छन् ।

यसअघि सेजमा तीन करोड रुपैयाँ स्थित पुँजी हुने उद्योग स्थापना गर्न सकिने प्रावधान रहेको थियो ।