शिल्पी थ्रिएटरको मुक्त रङ्गमञ्च अभियान : पूर्वमा ‘ठूला माछा – साना माछा’ प्रदर्शन

केशु विरही
मोरङ : शिल्पी थ्रिएटर काठमाडौँले पछिल्लो समय मुक्त रङ्गमञ्च अभियानअन्तर्गत प्रदेश नं १ मोरङ, झापा तथा सुनसरीका विभिन्न स्थानमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन भएको छ ।
विराटनगरबाट सुरु भएको नाटक टोली, रङ्गेली, विराटचोक, बेलबारी, पथरी, दमक, विर्तामोड, काँकडभिट्टा, हुँदै यतिखेर नाटक मन्चको कार्य सम्पन्न भएको छ । सुनसरीका इटहरी, धरान, इनरुवा लगायतका स्थानमा नाटक मञ्चन भएको थियो । कार्तिक ४ देखि सुरु भएको यो यात्रा १७ गते सम्म चलेको थियो ।

छोटो समयमा धेरै कुरालाई समेटेर कलात्मक रूपमा प्रस्तुत भएको यो नाटकले पछिल्लो समय धेरैको मन जितेको छ । पछिल्लो समय पूर्वमा ‘ठूला माछा–साना माछा’ कै चर्चा चलेको पाइन्छ । देशमा भ्रष्टाचारको जालोले तलदेखि माथि सम्म नै जेलेको छ । दलाल र बिचौलियाले गर्दा सरकारी कार्यालयहरू दङ्दङगी गन्हाएका छन् ।

योजनाका नाममा मनपरी रूपमा राज्यको ढुकुटी खर्च भएका छन् । प्रजातन्त्र र लोकतन्त्र हुँदै देशमा गणतन्त्र आएको छ तर जनताका समस्या जहाँका त्यही छन् । सर्वसाधारणले सुख पाउनु पर्ने झन् झन् दुःख पाएका छन् । सर्वसाधारणले सानो कामका लागि दिनहुँ धाउनु पर्ने वाध्यतामा कुनै परिवर्तन आएको छैन । कति ठाउँमा सबै कागजात मिलेर पनि सर्वसाधारण जनताहरू काम नगरी फर्कन विवश छन् । भैरब अर्यालले भनेजस्तै भोलि वादले अझै पनि छाडेको छैन ।

यो नाटकले राजनीतिक नेतृत्व, स्थानीय सरकार तथा कर्मचारीद्वारा सर्वसाधारणलाई दिइएको दुःखको विषयलाई मिहिन ढङ्गले उतार्न सफल भएको छ । त्यसो त भ्रष्ट्राचार राजनीति र व्युरोक्रेसीमा मात्र सीमित छैन । यो जनस्तर सम्म पनि पुगेको छ ।

स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमिततालाई नाटकको माध्यमबाट नेपाली जनतालाई देखाउने प्रयास गरिएको नाटकका परिकल्पनाकार तथा निर्देशन घिमिरे युवराज बताउँछन् ।नाटक हेर्ने अधिकांक्ष दर्शकहरूले भने यसमा सर्वसाधारण जनताको पीडालाई जस्ताको तस्तै रूपमा उतारिएको प्रतिक्रिया दिएका छन् । केही दिन अघि मात्र ‘ठूला माछा–साना माछा’ बेलबारीको सिर्जना घरमा प्रस्तुत भएको थियो ।

स्थानीय सरकारका काम कारबाहीप्रति कडा रूपमा व्यङ्ग्य गरिएको दृश्य टुलुटुलु हेरिरहेका बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह नाटकले एउटा विषयलाई भन्दा मुलुकमा भएको सारा बेथितिलाई उठाएको बताएका थिए ।

उनको प्रतिक्रिया रहेको थियो ‘यो नाटकले एउटा विषयलाई मात्र उठाएको छैन । सबै कुरालाई उठाएको छ । सबै कुरालाई छोटो समयमा उठाउन सक्नु नै यस नाटकको मुख्य विशेषता हो ।’सिर्जना घर बेलबारीका सञ्चालकसमेत रहेका विकास बुढाथोकी ‘ठूला माछा – साना माछा’ नाटकमा नेपाली समाजको यथार्थ परिवेशको प्रतिकात्मक प्रस्तुति रहेको बताउँछन् ।

उता धरानमा प्रदर्शन भएको यो नाटक हेरेर प्रदेशप्रोटलका सम्पादकसमेत रहेका राजेश विद्रोहीले ‘कलात्मक र समकालीन नेपालको यथार्थ चित्रण’ रहेको प्रतिक्रिया दिएका छन् ।
प्रदेश नं १ का विभिन्न सहरमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, सङ्गीता उराँव, मानहाङ लावती, असीम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल तथा संजीत थुलुङ राई लगायतले अभिनय गरेका थिए ।

वि.सं. २०६३ सालमा स्थापित शिल्पी नाट्य यात्राले अभिनय सम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएको छ । यस संस्थाले नाटक सम्बन्धी पुस्तकहरू पनि प्रकाशन गर्ने गरेको छ । यसले देशमा मात्र नभएर विदेशमासमेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको पाइन्छ ।