बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाउने तयारी

चितवन :‘ सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी ’ भन्ने नाराका साथ यही भदौ २९ गते , मंगलबार , ५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ ।

महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले राजधानी काठमाडौंको सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवद्र्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्ने छन्  ।

दिवसका कार्यक्रममा ‘ सङ्घीय नेपालमा बाल अधिकार ’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ ।

सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम , अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ ।

यस्तै भदौ ३० गते , बुधबार , सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीतिगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताए ।

उनले बाल अधिकारबारे सञ्चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गरे । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिए  ।