नेवार जातिले तीज मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

लेखक : जनकमान डंगोल

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

नेवारी परम्परा अनुसार केटी अर्थात् बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो ‘इहिं मचा’, जसमा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा ‘तयेगु’ अर्थात् नेपालीमा गुफा राख्ने, जसलाई ‘सूर्य दर्शन’ पनि भनिन्छ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरूमा केटीहरूको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्य दर्शन गरिएका बालिकाहरू खराब मान्छेहरू तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

नेवार जातिमा बालिका रजस्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालीका दिनभरि व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछिन् । विधिवत् रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । नेवार समुदायमा छोरीको तीन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि बिजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्य दर्शन गराइन्छ र वयस्क भएपछि वरसँग विवाह गराइन्छ ।

सनातन हिन्दू नै भएता पनि नेवार समुदायका महिलाहरूले तिजको समयमा यो व्रत बस्नु पर्दैन अथवा भनौँ बस्ने परम्परा छैन किनकि नेवार समुदायका सनातनी कन्याहरूको बाल्यावस्थामा नै भगवान् सुवर्ण कुमार हिरण्य-गर्भसँग वैदिक (तन्त्र निर्देशन अनुसार इही (इहीपा, विवाह) संस्कार सम्पन्न भई कहिले पनि विधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरिसकेका छन् । यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महिलाहरूले पुनः सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दू नै भएता पनि नेवार महिलाहरूले तीजको यो व्रत लिँदैनन् ।
आजकाल केही नेवार कन्यादेखि महिलाहरूले अरूहरूको देखासिकी गर्दै तिजको व्रत बस्न थालेका छन् । रहरले यो व्रत बसेको हुन् भने व्यक्तिको स्वतन्त्रता माथि बोल्ने र लेख्ने कुरा भएन तर अज्ञानतावश बसेका हुन भने त्यो नेवार परम्परा, संस्कृत र धर्म संस्कार विपरीत छ।