मदनलाई सम्झिँदा भावुक भइन् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं : नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा एमालेले राष्ट्रपति भण्डारीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले नेपालका कम्युनिस्ट पार्टीहरुबीच बारम्बार आएको फुट अवसरवाद हो कि होइन भन्ने समीक्षा गरेर ठोस निष्कर्ष निकाल्नुपर्ने बताइन् ।

३ जेठ २०५० मा भएको दासढुंगा दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि आफ्नो राजनीतिक जीवनले नयाँ मोड लिएको उनले स्मरण गरिन् ।

‘एमालेको प्रेरणा, कार्यकर्ता र जनताको चाहना बमोजिम म मदनका अधुरा सपना सकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय भएको थिएँ,’ यसो भन्दा उनको गला अवरुद्ध भएको थियो ।

कार्यक्रममा मदन भण्डारीका लेखहरुको अंग्रेजी अनुवाद संग्रहित गरिएको पुस्तक पनि विमोचन गरिएको थियो ।