टी २० वरीयतामा दीपेन्द्र बने एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर

काठमाडौं : नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन् ।

मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन् । उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू परेका छन् ।

ऐरी आईसीसीको टी २० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन् । उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन् ।

ऐरीपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औं स्थानमा रहेका छन् । १२ औं स्थानमा टेष्ट राष्ट्र अष्ट्रेलियाका मिचेल मार्स छन् ।

अलराउन्डरतर्फ पहिलो नम्बर बंगलादेशका सकिब अल हसन रहेका छन् । टी २० बलिङतर्फ भने नेपालका कुनै पनि बलर १०० भित्र समेत अटाएका छैनन् ।

ब्याटिङमा कप्तान रोहित पौडेल दुई स्थान तल झर्दै ५४औं स्थानमा पुगेका छन् । ब्याटिङतर्फ ऐरी १६ स्थान सुधार गर्दै ६२औं स्थानमा उक्लिएका छन् ।

त्यस्तै अर्का ब्याटर आसिफ शेख ३६ स्थान फड्को मार्दै उत्कृष्ट १०० भित्र अटाएका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औं स्थानमा परेका छन् ।