धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको चतराधाममा बाह्रबर्षे कुम्भ मेला सुरु हुँदै

धरान : धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् ।

महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।