मिटरब्याज पीडितसँग वार्ता गर्ने सरकारी टोलीका संयोजक फेरिए

काठमाडौं: मिटरब्याज पीडितसँग संवाद गर्न सरकारले बनाएको वार्ता टोलीका संयोजक फेरिएका छन् ।

गृह मन्त्रालयले पीडितसँग वार्ता गर्ने जिम्मा मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराईलाई दिएको हो ।

मन्त्रालयले यसअघि पीडितसँग वार्तासँग सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति बनाएको थियो । हालै उनलाई मन्त्रालयले प्रशासन महाशाखाको जिम्मा समेत दिएको छ । यसपछि वार्ता समितिको संयोजक पनि फेरिएका हुन् ।

मन्त्रालयका एक अधिकारीले ‘स्वास्थ्यका कारणले बिदामा बस्नुपर्ने भएकाले’ तत्काललाई सहसचिव भट्टराईले सरकारी वार्ता टोलीको नेतृत्व गर्ने बताए ।

पण्डितले गएको आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेका थिए । भोलिपल्ट ११ बजे बस्ने गरी टोली उठेपनि प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता विथोलिएको थियो ।

मंगलबार पुनः वार्ताका लागि टोली बसेपनि विनानिष्कर्ष टुंगिएको थियो । वार्तामा पीडित पक्षको नेतृत्व मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले गरेका छन् ।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।