‘द डिपार्चर’ ,कथा भन्दा पनि भावना हो :निर्देशक खड्का

काठमाडौं : कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा नाटक ‘द डिपार्चर’ मञ्चनरत छ ।

सर्वनाम थिएटर कालिकास्थानमा  मञ्चनरत यो नाटक माघ २९ देखि फागुन ५ सम्म मञ्चनमा आउनेछ ।

नरेन भट्टराईको लेखनमा तयार यो नाटकमा उच्च शिक्षाका लागि विदेशिने र उनीहरुको पर्खाइमा बस्नेहरुको कथा समेटिएको छ ।

यो कथालाई कथा भन्दा पनि भावनाका रुपमा रहेको निर्देशक खड्का बताउछन।

‘द डिपार्चर खासमा कथा होइन, एउटा भावना हो । छोडेर जानेहरुबाट पर्खनेहरुले गर्ने आशा, अपेक्षा । उनीहरुका अपेक्षा पूरा होलान् या नहोलान् त्यो भने नाटक हेरेपछि मात्रै थाहा हुन्छ,’निर्देशक खड्काले भने ।

‘डिपार्चर’लाई एक हप्तासम्म मञ्चन गराउने निर्माण टोलीको तयारी छ । नाटकमा शोभा कार्की, नरेन भट्टराई, धिरज थापा मगर, स्वस्थानी राउत, मुकेश हमाल, सुरज पराजुली, विध्यक तिलकलगायतको अभिनय छ ।

नाटकमा बिमल लामिछानेको संगीत, रोशन फुँयालको तबला, रसिकराजको मञ्च कला, बिमल लामिछाने र सागर भुसालको गायन छ ।