एमाले धादिङ अधिवेशन : त्रिपाठी र अधिकारी समूह बीच प्रतिस्पर्धामा

काठमाडौं : विवादपछि रोकिएको नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशन बुधबारबाट नेतृत्व चयन प्रक्रिया सुरू भएको छ।

अधिवेशन मंगलबार अपराह्न १२ बजेबाट सुरू भएको हो। बुधबार दिउँसो २ बजे मतदान हुने एमाले धादिङले जानकारी दिएको छ।

आगामी नेतृत्वका लागि निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र प्रदेश कमिटी सदस्य रामकुमार अधिकारी समूह बनाएरै मैदानमा उत्रिएका छन् । त्रिपाठी समूहबाट उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा छन । भने त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती रहेकी छन्।

अधिकारी समूहबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी, खुला उपसचिवमा दीपक खतिवडा र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार बनेकी छिन्। एमाले धादिङको नवौं अधिवेशन फागुन २१ गतेबाट सुरू भएको थियो । तर, फागुन २२ गते अध्यक्ष मण्डल र प्रतिनिधि मनोनीतमा विवाद भएको थियो।

फागुन २२ गते झडप भएपछि केन्द्रीय संगठन विभागले हस्तक्षेप गरेको थियो। संगठन विभागले प्रतिनिधि विवाद निरूपण गरिदिएको एमाले धादिङले जानकारी दिएको छ।

त्रिपाठी र अधिकारी समूहबीच पाँच प्रतिशत प्रतिनिधि मनोनीतमा विवाद भएपछि संगठन विभागले यसको निकास खोजेको हो।

संगठन विभागले अधिकारी समूहका १० जना प्रतिनिधि मनोनीत गर्दै विवाद टुंग्याइदिएको एक नेताले बताए। उनकाअनुसार जिल्ला अधिवेशनमा प्रतिनिधिको संख्या ५ सय ७८ जना पुगेको छ।