पानी-चक्रले बिथोलिंदै खेतीपाती

खासगरी, आधुनिक हुन भन्दै हामीले प्रोत्साहन गरेको खनिज ऊर्जामा आधारित भौतिक विकास, प्रकृतिको अति दोहन, उत्पादन केन्द्रित खनिज ऊर्जा, कृत्रिम रसायन र विषादीमा आधारित एकल र सफा खेती प्रणालीले हरित ग्याँस उत्सर्जन, तापक्रम वृद्धिका साथै पानी चक्रमा अनिश्चितता बढेको छ ।

अहिले हाम्रो खाद्य तथा कृषि प्रणाली सबैतिरबाट संकटले घेरिएको छ । यो कृत्रिम रसायन मल, विषादी, हर्मोन र प्लाष्टिकले आक्रान्त छ । माटोको मरुभूमिकरण बढिरहेको छ भने उत्पादकत्व निरन्तर घटिरहेको छ । कृषि बजार नाफाखोर दलालको कब्जामा छ । किसानले खेती गरेर उत्पादन लागत समेत पाउन सकेका छैनन् ।

नेपाली उत्पादनको बजार अन्य देशको प्रतिस्पर्धी कृषि उत्पादनले खोसेको छ । आयात र किसानका स्थानीय उत्पादनको बजार नियमन गर्नुपर्ने राजनैतिक तथा प्रशासनिक नेतृत्व यसको मूकदर्शक बनेको छ ।

हामी एकातिर मान्छे बेच्ने देशमा नाम दर्ज गराउँदै विप्रेषणको खेती भित्र्याउँदै छौं भने अर्कोतर्फ यसैबाट आएको आम्दानीले हाम्रो खाना र घरबार चलेको छ । लाग्छ, नेपाली राज्यसत्ता निरीहता, निकम्मापन र पाखण्ड कोरल्न ओथारो बसेको छ ।

विकासे हुन गरिएको प्रदूषण, वातावरणीय ह्रास र समग्र प्रकृतिको उत्ताउलो विनाशसँगै थपिंदै गएका वातावरणीय संकटमा हावा, माटो, घामपानी र जैविक सन्तुलनमा आएको फेरबदलको प्रभाव सतहमै आएका छन् । यो क्रम निरन्तर बढिरहेको छ । यस्ता फेरबदलमध्ये धेरै मानिसका आफ्नै उत्ताउला कर्मले प्रकृति र जलवायुमा भइरहेका परिवर्तन हुन् । तीमध्ये विलाउँदै गरेको हिउँदे झरी एक हो ।