कांग्रेसबाट निरन्तर धोका भयो : माओवादी कोशीको निष्कर्ष

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गठबन्धनमा नेपाली कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको छ ।

राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि बसेको प्रदेश कमिटी बैठकले कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको हो ।

बैठकले कांग्रेससँग सहकार्यका विषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् ।

शुक्रबार बसेको पार्टीको छैटौं पूर्ण बैठकले कांग्रेसबाट धोका भएको निष्कर्ष निकाल्दै सहकार्यका लागि गम्भीर समिक्षा गर्नु पर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिक्सोले बताए ।

‘निर्वाचनमा मुलत कांग्रेसबाट धोका भएको निष्कर्ष निकालियो,’ उनले भने,‘ यो गठबन्धनको निरन्तरता र सहकार्यका लागि गम्भीर चुनौती रहेको र आगामी सहयात्राका लागि केन्द्रसँग समन्वय गरेर निर्णय गर्ने निर्णय भयो ।’