हुलाकी राजमार्ग वरपरका क्षेत्रमा गगन थापाले संवाद यात्रा गर्ने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् ।

माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।

‘पार्टीको आन्तरिक कुरा सबै तहमा थाहा छ । संगठनको अवस्थाबारे थाहा छ’, महामन्त्री थापाले भने ‘तर, त्यो भन्दा पर नागरिकको तहमा के सोचिंरहेका छन् । उनीहरुको कुरा सुन्न संवाद यात्रा गर्न लागिएको हो ।’ संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम गर्ने महामन्त्री थापाको तयारी छ ।

‘कुनै ठाउँमा त्यहाँको सामुदायिक विद्यालयको बारेमा कुरा हुन्छ । कहीँ स्वास्थ्य केन्द्र हुनसक्छ’, महामन्त्री थापाले भने, ‘कहीँ विकास निर्माणका आयोजना अवलोकन हुन्छ । ’मन उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्ने थापाले बताए ।

थापाले संवाद यात्राको कार्यक्रम विहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।