आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

काठमाडौं : आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ।

इस्वी संवतको सुरुवात इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले गरेका हुन्। नेपालमा पनि अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान, साङ्गीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरू भइरहेका छन्।

काठमाडौँ, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरूमा नयाँ वर्ष २०२४ भव्यरुपमा मनाइँदैछ। विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन्।