घरघरमा हुन सक्छन् महिला हिंसा, अभियानले कति प्रभाव पार्ला

हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना अभिबृद्धि गराउन तथा कायम राख्नको लागि विश्वभर विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी १६ दिने अभियानको रुपमा मनाउने गरिन्छ ।

विभिन्न अध्ययनले देखाए अनुसार संसारभरमा हेर्ने हो भने प्रत्येक तीन जना महिलामध्ये एक जनाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारका हिंसा भोगेका हुन्छन् भन्ने अध्ययनले देखाउँछ । अधिकांशले आफ्नो सबैभन्दा नजिकको प्रेमी, विश्वासपात्र वा निकटको जीवनसाथीबाट सो प्रकारको हिंसा व्यहोरेको अध्ययनमा उल्लेख गरिएको छ । अर्को तथ्यांक हेर्ने हो भने ३५ प्रतिशत महिलाले जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौनजन्य हिंसाको शिकार भएको उल्लेख गरिएको छ ।

कतिपयले विपरित लिङ्गिप्रति आकर्षित हुनु स्वभाविक कुरा हो, तर त्यसैको आडमा कर बलको प्रयोग गर्नु हिंसा भित्र पर्दछ । नारी पुरुष सँगै हिंड्ने सँगै बस्ने र सँगै कामकाज गर्दा भएका हिंसाजन्य क्रियाकलापहरु सबैलाई हिंसा भनिंदैन, तर सोही क्रममा भएका बल प्रयोगका क्रियाकलाप हिंसा भित्र पर्दछन् । हिंसा सँगै रहँदा बस्दा मात्र हुँदैन । अनायासै वा जीवन संघर्षको क्रममा पनि हिंसाजन्य घटनाहरु भएको पाइन्छ ।

दिनहुँजसो पत्रपत्रिकामा दाइजो नल्याएको निहूँमा महिलामाथि दुव्र्यबहार, बोक्सीको आरोपमा कुटपिट लगायत मादक पदार्थ सेवन गरेर जथाभावी गरिने क्रियाकलाप हिंसा भित्र पर्दछन् । कार्यस्थलमा हुने अमानवीय व्यवहार, श्रमिकहरुमाथि हुने आमनवीय व्यवहार, बलात्कार र हिंस्रक अपराध पनि हिंसा हुन् ।

अव, यसलाई नियाल्दा हिंसाबाट बच्न र बचाउन केवल दिवस मनाएर मात्र पुग्दैन भन्न खोजेको हुँ । लैङ्गिक विभेदले हिंसालाई प्रश्रय दिइरहेको वर्तमान अवस्थामा त्यस्तो विभेदमा कमी ल्याउन आवश्यक प्रयास गर्नु पर्दछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक मानिसको स्वतन्त्रतापूर्वकजन्मन, हुर्कन र बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ । मानव अधिकारको घोषणापश्चात संयुक्त राष्टू संघबाट महिला अधिकार, बाल अधिकार, अपांगता भएका व्यक्तिहरुको अधिकार, आप्रवासीका अधिकार लगायतका महासन्धीहरु परित भइसकेको अवस्थामा पनि लैंगिक विभेद आजको विश्वव्यापी समस्या हो र यो समस्याबाट खासगरी महिला तथा बालिकाहरु बढी पीडित हुने गरेका छन् । पित्तृसत्तात्मक समाजमा महिला तथा बालिकाहरुलाई कमजोर र दोस्रो दर्जाको नागरिक समान व्यवहार हुने गरेको छ । धर्म, संस्कार, संस्कृति, रीतिरिवाज आदिका नाममा हानिकारक रीतिरिवाजको प्रचलनका कारण महिला, किशोरी र बालिकामाथिको दमन हजारौं वर्षदेखि भए गरेका छन् ।

महिला तथा बालिकामाथि हुने यिनै हिंसा विरुद्ध संसारभर बहस, छलफल र ऐक्यबद्धताका लागि संयुक्त राष्टू संघले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान को रुपमा मनाउँदै आइरहेको छ । यस सोह्र दिने अभियान भित्र अन्य दिवसहरु पनि पर्दछन्, यसैभित्र समेटेर यि दिवसहरु मनाउने गरिन्छ ।

हाम्रो समाजको अवस्थालाई हेर्ने हो भने हिंसाको शुरुवात परिवार र समाजबाट नै शुरुवात भएको पाइन्छ । छोरा र छोरी बीचमा गरिने भेदभावले हिंसालाई नजानिंदो रुपमा सहयोग गरेको हुन्छ । परिवार, समाज अनि राष्टूले महिला र पुरुषमाथि भेदभावको व्यवहार जबसम्म गर्दछ, तवसम्म महिला हिंसा विरुद्धको अभियान सफल हुनेवाला छैन ।

एउटा उच्च दर्जामा रहेको व्यक्तिले आफ्नो शक्तिको आडमा महिलाहरुमाथि देखाएको वक्रदृष्टि, गरेको व्यवहार, अहिले सामाजिक सञ्जालको प्रयोगबाट गरिने व्यवहारले हिंसाको शुरुवात भएका कैयौं उदाहरण पाउन सकिन्छ । एउटी महिला, जसले प्रतिकार नगरेकै अवस्थामा त्यस्ता व्यक्तिहरुले महिलालाई प्रयोग गरिरहेको पाइन्छ । कतिपय अवस्थामा विभिन्न लोभ लालच देखाएर महिलामाथि अनेकन व्यवहार गर्दासम्म कतिपय महिलाहरु सहेर बस्न बाध्य छन् । हुनत, कतिपयले यसलाई सहिदिएकै भरमा त्यस्ता व्यक्तिहरु अझै प्रोत्साहित भइरहेका पनि छन् । तसर्थ महिलाहरु यस्ता क्रियाकलापमा केहि नबोल्नु वा सहनु भनेको हिंसालाई प्रश्रय दिनु नै हो भन्ने बुझ्नु जरुरी छ । हिंसा भएको जानकारी पाउनासाथ सम्बन्धित निकायमा खबर गर्नु पर्दछ भन्ने जानकारी भएर पनि जानकारी नगराएको अवस्था एकातिर छ भने कतिपय अवस्थामा त्यहि सम्बन्धित निकायभित्र पनि हिंसाको शिकार हुनुपरेका घटनाहरु पनि देखिन्छन् ।

एउटा अफिसमा पुरुषले महिलालाई नजानिंदो तवरले हिंसा गरेका उदाहरण खोज्न टाढा जानु पर्दैन । कतिपय अवस्थामा महिला आफैं नजिक हुन खोज्ने, स्वार्थ पूर्ति गर्नको लागि अनावश्यक सम्बन्ध राख्न खोज्दा हिंसाको शिकार भएर पछि सम्बन्धित निकायमा गएका उदाहरण खोज्न पनि टाढा गइरहनु पर्दैन ।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने महिला हिंसा बढ्दो अवस्थामा रहेको पाइन्छ । खास गरी नेपाली संस्कृतिमा पश्चिमा संस्कृतिको नक्कल भित्रिरहँदा महिला हिंसा भुसको आग भित्रभित्रै सल्किरहेको देख्न सकिन्छ । यदि घरयासी हिंसालाई बाहिर ल्याउने हो भने, यसले ठूलो तथ्यांक देखाउँछ । यहाँ भन्न खोजिएको के हो भने महिला हिंसाका कतिपय सबालहरु घरभित्रै दविएका छन् । यसको लागि हिंसा महिला हिंसा विरुद्धको दिवसले प्रभाव पार्न सकेको छैन । एक त नेपाली संस्कृति, अर्को पुरुषप्रधान समाज र अर्कोतर्फ आफ्नो भविष्य, परिवार र ईज्जतको चिन्ता प्रमुख कुरा हुन् । भएगरेका हिंसा पनि बाहिर आउन नसक्नुमा विविध समस्या र विषय छन् । यसलाई जबसम्म बाहिर ल्याउन सकिंदैन, हिम्मत गरिंदैन, तवसम्म बाहिर मेलमिलाप र भित्र हिंसा रहिनै रहने निश्चित छ । यसमा महिला नै बढि जिम्मेबार छन् ।

विद्यालय स्तरको पाठ्यक्रममा महिला हिंसा अन्त्य गर्नका लागि बालबालिकालाई शिक्षा दिएको पाइन्छ, यसले बालबालिका तह देखिनै हिंसासम्बन्धी व्यवहार जान्न र बुझ्न बालबालिकाहरुले मौका पाएका छन् । यसरी प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न, मनन गर्न र बुझ्न उत्तिकै आवश्यक छ । यौवनावस्थामा भएको मायाँप्रेम, मन नमिलिकन गरिएको विबाह, दाईजो प्रथा, महिलाहरुको बाहिरी समाजसँगको सम्बन्ध, महिलाले विबाह अघि राखेका सामाजिक र दौतरी सम्बन्ध आदि महिला हिंसाका प्रमुख कारक देखिन्छन् ।

त्यसो त महिला हिंसामा पुरुष मात्र नभई महिलाहरु पनि सहभागी भएका हुन सक्छन् । सासुले बुहारी, बुहारीले सासुमाथि गर्ने हिंसा, दिदीले बहिनी, नन्दले भाउजु शिक्षिकाले छात्रा विद्यार्थी आदिमाथि पनि हिंसा गरेका घटनाहरु बेलाबखत बाहिर आउने गर्दछन् । तसर्थ महिला हिंसामा पुरुष मात्रै कारक हो भनेर भन्नु पनि अनुपयुक्त हुन्छ जस्तो लाग्दछ ।

तसर्थ, लिङ्गकै कारणले कुनैपनि भेदभाव गरिनु हुदैन भन्ने कुरालाई हेर्ने हो भने, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा यस्ता समस्याको खोजी गर्नु पर्दछ । दिउसो विविध कार्यक्रमका साथ दिवस मनाउने र बेलुका घरमा हुने हिंसा बीचमा जबसम्म व्यालेन्स मिल्दैन, तवसम्म हिंसा हिंसाकै रुपमा भित्र रहनेछ । यस दिवसमा महिला अधिकारकर्मीहरुलाई समाजका कुना कन्तरामा रहेका घटना बाहिर ल्याउन सक्ने गरी तालिमको व्यवस्था गर्ने भए गरेका हिंसाका घटना, समस्या पत्ता लगाई मनोबैज्ञानिक रुपमा काउन्सिलिङको माध्यमबाट समाधान गर्ने संयन्त्रको विकास गरिनु पर्दछ । अनि मात्र केहि हदसम्म घरेलु हिंसाको समाधान हुन सक्छ ।

 

सबिना प्रजा