एक अर्ब लगानीमा खुल्यो नयाँ दाना उद्योग

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँ लगानीमा दाना उद्योग खुलेको छ ।नेपाल वेलहोप एग्री–टेक प्रालिले नयाँ प्रविधि प्रयोग गर्दै पेलेट दाना उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको जानकारी दिएको छ ।

गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै पहिलोपटक प्रयोग भएको कम्पनीका प्रोडक्सन प्रमुख डम्बर आलेले दाबी गरे । पूर्ण रूपमा स्वचालित मेसिनद्वारा उत्पादन हुने हुँदा गुणस्तरमा एकरूपता कायम हुने आलेले बताए ।

‘पहिले पेलेट दाना बनेपछि तेल मिक्स गर्ने गरिन्थ्यो, त्यसो गर्दा दाना नरम हुने र धुलोको मात्रा बढी हुने समस्याले गर्दा चल्लाले खान सक्थेन’, उनले भने, ‘यो मेसिनले ओइल स्प्रे दाना उत्पादन गर्छ, जुन कडा हुन्छ र धुलो हुँदैन, जसले गर्दा दाना खेर जाने समस्या हुँदैन । पशुपन्छीले सहजै सबै खान्छन् र त्यसमा भएको पोषक तत्व लिन्छन् ।’

गुणस्तरीय दाना उत्पादनसँगै प्लाटिस्टक लेमिनेटेड’ बोरामा ‘प्याकेजिङ’ गर्ने भएकाले दानाले वायुमण्डलको ‘मोस्चराइजर’ तान्ने सम्भावना कम हुने उनको भनाइ छ ।

अत्याधुनिक प्रविधिबाट उत्पादित पेलेट दानाको मूल्य प्रतिस्पर्धी देखिए पनि दाना खपत कम हुने र उत्पादकत्व बढी हुने भएकाले किसानहरूलाई फाइदा हुने कम्पनीका बिक्री संयोजक डा. जितेन्द्र लामाले बताए ।

अहिले सो उद्योगले कुखुरा, सुँगुर–बङ्गुर, गाई–भैंसी र माछाका लागि मौसम र स्वादअनुकूलको ४२ प्रकारका पेलेट दाना उत्पादन गर्दै आएको छ । हाल प्रतिदिन १६ घण्टा सञ्चालन हुने उद्योगबाट प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन हुन्छ ।

मोरङको झोराहाटमा बाहेक नेपाल वेलहोपका चितवनको भरतपुर–५ मा र बाँकेको कोहलपुर–१४ बाट दाना उत्पादन गरिरहेको छ । साढे तीन बिघा क्षेत्रफलमा फैलिएको झोराहाटस्थित उद्योगमा सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।