भूकम्प पीडितको सहारा बन्दै एमाले, जाजरकोटमा बनायो ५०० बढी अस्थायी आवास

  जाजरकोट: जाजरकोटको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६‍‍.४ म्याग्निच्यूडको भूकम्प गएको आज एक महिना पुगेको छ। यो भूकम्पमा परेर जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भयो । घाइतेहरूमध्ये ९ जनाको अहिले पनि उपचार भइरहेको छ। चिसो बढेसँगै भूकम्प प्रभावितहरूको दैनिकी अझ कष्टकर बनिरहेको छ।

यसबीचमा भूकम्पबाट थलिएको जाजरकोट र रुकुम पश्चिमको घाउमा राजनीतिक दलहरूले मलम लगाउने प्रयास पनि जारी राखेका छन् । विभिन्न राजनीतिक दलहरूले आफ्ना भ्रातृ संगठनमा आबद्ध युवाहरूलाई स्वयंसेवकका रूपमा खटाएर भूकम्पले प्रभावित नागरिकको छानो बनाउनमा सघाइरहेका छन् । यस अभियानमा अगाडि छ, नेकपा एमाले ।

श्रमदान अभियानबाट हालसम्म एमालेले पाँच सय अस्थायी आवास निर्माण गरेको छ । साथै ४०० भग्नावशेष व्यवस्थापन र ६ वटा अस्थायी विद्यालय निर्माणको काम सम्पन्न गरेको छ ।

एमाले केन्द्रीय सदस्य एवं पार्टीको विपद् व्यवस्थापन समितिका संयोजक किरण पौडेलको नेतृत्वको एक हजार भन्दा बढी स्वयंसेवक टोली जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण र भग्नावशेष हटाउन परिचालित छ । २५ जनाको दरले ४० समूह भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्, जसमा रुकुम पश्चिममा १५ समूह र जाजरकोटमा २५ समूह क्रियाशिल छन् ।

अस्थायी आवास निर्माण गर्दा गरिब विपन्न परिवार, महिला, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, अपांग तथा बालबालिकालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको एमालेले जनाएको छ । अभियान अझै एक हप्ता चल्ने बताएको छ । अस्थायी टहरा मात्र नभई आजसम्मको दौरानमा सर्वाधिक मजबुत र आकर्षक संरचना पनि आफूहरुले नै बनाएको एमालेका स्वयंसेवकहरुले दाबी गरेका छन् ।