पश्चिम बंगालको चुनावमा हिंसा, कम्तिमा १३ जना मारिए

बंगाल: भारतको पश्चिमबंगालमा पञ्चायतको निर्वाचनमा हिंसा र झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

शनिबार सम्पन्न मतदानको समयमा राज्यका विभिन्न क्षेत्रमा हिंसा भड्किँदा कम्तिमा पनि १३ जनाको मृत्यु र संयौं घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इन्डियन एक्सप्रेसका अनुसार मारिने १३ मध्य ७ जना सत्ताधारी त्रिणमूल कंग्रेसका कार्यकर्ता रहेका छन्। बाँकी ६ जना भारतीय जनता पार्टी, कंग्रेस आई, सिपिआइएम लगायत पार्टीका कार्यकर्ता छन्।

मुर्सिदावाद, कुचबिहार, २४ परगना, पूर्वी बर्दवान लगायत जिल्लाका ६० भन्दा बढी मतदानस्थलहरूमा हिंसा भएको भएको थियो।

केही क्षेत्रमा मतदानस्थलमै बम विस्फोट, गोली प्रहारदेखि बुथबाटै थुतेर मरणासन्न हुनेगरी कुटपिट भएका घटनाहरू सार्वजनिक भएका थिए।

केही स्थानहरूमा बुथ क्याप्चरदेखि मतदातामाथि नै कुटपिट समेत भएको बताइएको छ।

चुनावमा हिंसा हुन सक्ने आकलनका साथ १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएपनि केही स्थानहरूमा ती सुरक्षाकर्मी निरीह देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाए।

१३ जनाको मृत्यु हुनेगरी हिंसा भड्किएपछि पश्चिम बंगालको मुख्य विपक्षी दल भाजपाले चुनाव रद्द गर्न माग गरेको थियो।

केही स्थानमा हिंसाका बाबजुद साँझ ५ बजेसम्म भएको मतदानमा ६६.२८ प्रतिशत भोट खसेको छ। मतपरिणाम जुलाई ११ गते सार्वजनिक गर्ने तयारी छ।