गुरु बा लाई चिठी !

 

२०८०/०३/१८

भोजाड, चितवन

प्रिय गुरु बा सप्रेम सम्झना,

दिन बिताउन गार्हो हुन्छ वर्ष वितेको पत्तो हुँदैन भने झैँ हजुरले भौतिक शरीर त्याग गर्नु भएको पनि तिन वर्ष पुग्न लागेछ | अन्तस्करणमा हजुरको सुक्ष्म रुपको उपस्थिति र मार्गदर्शन सदा सर्वदा रहेकै हुन्छ | तै पनि केहि विशेष क्षण र तिथिहरुमा हजुरको सम्झना र स्मरणले सधैँ सत्मार्गमा उन्मुख हुन प्रेरणा प्राप्त हुन्छ | आज गुरु पुर्णिमा पुन: हजुरसंगका पलहरु स्मृतिमा जीवन्त अध्याय बनेर घुमीरहे |यसै सन्दर्भमा हजुर संगका स्मृतिलाई लेख्ने सोशिस गर्दै छु|

हजुर आफ्नो पांचभौतिक शरीरलाई त्यागेर ब्रम्हमा समाहित हुनु भयो, हजुर ब्रम्हलिन हुनु भयो | सामाजिक संजालमा संसारभर बाट हजुरका शुभचिन्तकले लेखे बमोजिम हजुरले निर्वाण प्राप्त गर्नु भयो, हजुरले मोक्ष प्राप्त गर्नु भयो | सनातन धर्ममा उल्लेख गरे बमोजिम बार बार को जन्म/जुनी बाट हजुर मुक्त हुनु भयो… हजुरको आफ्नै शब्दमा हजुर आचार्य चरकले भने बमोजिम धर्म, अर्थ, काम सबै बाट मुक्त भएर मोक्षको अवस्थामा पुग्नु भयो | पार्थिव शरीरबाट चेतन तत्व अलग भएर विश्व ब्रम्हाण्डमा एक हुन पुग्नु भयो |

 

हजुरको बैकुण्ठ यात्रा यस्तो समयमा भयो जुन समयमा म शोक मनाउन समेत सक्ने अवस्थामा थिइन… सायद हजुर धेरै माया गर्नु हुन्थियो मलाई हजुरको वियोगमा धेरै शोकमा नपरोस भन्ने चाहनुहुन्थियो…. परिस्थिति त्यसै पर्यो…. हजुरको अन्तिम अवस्थामा अस्पतालको सिंडीमा बसेर हजुरको स्वास्थ्य लाभको कामना गर्न, सागरमा पुगेर हजुरको पार्थिव शरीरको अन्तिम दर्शन गर्न, रेखा आन्टी र परिवारका सदस्य संग संगै बसेर दुख बाड्न समेत नसक्ने अवस्थामा हजुरले आफ्नो बैकुण्ठयात्रा तय गर्नु भयो….  हजुरले भन्नु हुन्थ्यो नानि मन खोलेर हास्न अनि मन खोलेर रुन जान्नु पर्छ जीवन सहज हुन्छ….. सायद मन खोलेर रुन पनि सकिन अझै पनि हजुरको बिदाई सहज हुन सकेको छैन… सहज होस पनि कसरि … मन मस्तिस्कमा हजुरका अमृतरुपी वाणी र मन्द मुस्कान सहितको ओजस्वी मुहार घुमी रहन्छ, र जीवनभर अटल रुपमा त्यो स्मृति रही रहनेछ |

बिक्रम सम्बत २०५२/५३ तिर कक्षा ९/१० तिर पढ्दा देखि नै आयुर्वेदको संस्थागत विकासका लागि नीति निर्मातालाई घच्घच्याउन आफ्नो नियमित व्यस्तताका बाबजुद पनि हजुर लगायत हजुरको पुस्ताका अग्रज चिकित्सक एवं आयुर्वेदका विद्यार्थीहरु जो नयाबजारको छात्राबासमा रहनु हुन्थ्यो सबै जना नियमित जसो बुबालाई भेट्न नयाबजर स्थित हाम्रो डेरामा आई रहनु हुन्थ्यो, त्येही क्रममा बुबाले हजुर संग परिचय गराउदै नानी डाक्टर अंकल आयुर्वेदको सबै भन्दा राम्रो डाक्टर, देश बिदेशमा धेरै बिरामी निको पार्नु भएको छ, पढ्न सकेउ भने वहा जस्तै डाक्टर बन्नु पर्छ… भन्नु हुन्थियो | सायद यहि प्रेरणाले आयुर्वेद चिकित्सक बन्ने मेरो उदेश्य बन्न पुग्यो र आज जे जस्तो अवस्थामा जहाँ छु बुबा र ऋषि अंकलको आशिर्बाद एवं मार्गदर्शनले नै सम्भव भएको हो |

थोते बुढा (डा.मनबज्र बज्राचार्य) पछिको हाम्रो फ्यामिली डाक्टर हुनुहुन्थ्यो ऋषि अंकल… वहाको पुतलीसडक क्लिनिक, ठमेलको हेल्थ होम हुदैं धापासी र स्काउट बिल्डिंग लैनचौर सम्म सबै क्लिनिकमा बुबा, आमा, दिदीहरु, भाई हामि जो कोहि पनि सामान्य देखि जटिल स्वास्थ्य समस्या लिएर पुग्ने क्रम अन्तिम समय सम्म पनि कायम रह्यो | हाम्रो परिवार मात्र होइन बुबाले चिने जाने सम्म लम्जुंग काठमाडौँ देखि देश भरिका जो जतीले बुबालाई कुनै स्वास्थ्य समस्याको बारेमा गुनासो गर्थे सबै जसोले एकपटक डाक्टर ऋषिलाई जचाउने सल्लाह पाउथे | म आयुर्वेद चिकित्सक बनेको लगभग १५ वर्षको अवधिमा हामी बाबु छोरिमा धेरै जसो बिरामी, आफन्त, साथीभाई, चिनजानका सबैलाई एकपटक डाक्टर ऋषि लाई जचाउनुस न भन्ने सुझाब दिने आदत छुटेन | यो सबै वहा प्रतिको विश्वास र भरोसा थियो |

डाक्टर बा हजुरको निधनले मेरा बुवा, आमाको आशा/भरोसाको धरोहर मेटिएको छ भने मेरो ज्ञानको स्रोत छुटेको छ ….. अबका दिनमा मैले र मेरा बुबा आमाले वहाको अनुपस्थितिमा जिउने आदत बनाउनु छ… आई पर्ने सबै समस्या आफै सुल्झाउन सक्षम हुनु परेको छ | आज सम्म डाक्टर ऋषिबाट सिकेका ज्ञान र सीपलाई सके सम्म धेरै भन्दा धेरै बिरामीको सेवामा लगाउनु छ, देश बिदेशमा आयुर्वेदको उद्गम स्थल नेपाल हो, डाक्टर ऋषि जस्तै धेरै ऋषि महर्षिहरुको तपोभुमी नेपाल हो भनेर चिनाउने अभियानमा लाग्नु छ,हजुरले जस्तै निश्वार्थ भावले प्रेमपुर्वक मानव सेवामा लाग्नु छ |

BAMS अध्ययनको शिलशिलामा होस् वा अध्ययन पश्चात आयुर्वेद हेल्थ होममा काम गर्दा वा आयुर्वेद चिकित्सक संघमा कार्यकारी समितिमा रहेर काम गर्दा होस् हजुरसंगको सहकार्य, सहयात्रा सधैँ प्रेरणादायी हुने गर्थ्यो | आगामी दिनमा हुने कार्यक्रम, छलफल, सेमिनार, गोष्ठी प्रत्यक क्षणमा हजुरको अभाव सधैँ खड्किने छ, हजुर जहाँ हुनुन्छ हामीलाई आशिर्वाद र मार्गदर्शन गरि नै रहनु हुनेछ… आज लाई यति नै….

हजुर प्रति हार्दिक श्रद्धा सुमन |

 

सप्रेम

हजुरकी डाक्टर नानि

डा कोपिला अधिकारी