गजल -प्रदीप रोदन

महोदय यस्तो निष्ठुरी मन कहाँबाट पाउनुभयो?
चिताको दाउराले आफ्नो चुल्हो सल्काउनुभयो।

मलामी भएर आउँछन् अरु शव बोकेर आउँछ्न्
हजुर यो घाटमा पनि स्वार्थ बोकेर आउनुभयो।

युग बाँचिबक्सियोस् हाम्रो सरकारको जय होस्,
बिरामी बचाउनु भएन ओखती त बचाउनुभयो।

हजुरको कहिलेदेखिको मित्रता हो अँध्यारोसँग,
गल्लीमा हामी लुटिँदा किन बत्ति निभाउनुभयो?

बाँच्नेहरुलाई नि मरे जस्तो भएको रहेछ कसम,
लाशको भर्याङ्ग चढेर जब हजुर मुस्कुराउनुभयो।