
साहित्य प्रेमि विष्णु प्रसाद पौडेल विगत लामो समयदेखि साहित्यको क्षेत्र कलम चलाउदै आएका साहित्यकार हुन। वि.स.२०३० साल असार २५ गते कास्कीको पोखरा महानगरपालिका २३ सिधाने(पञ्चासे)मा बुवा स्वर्गीय चेतनाथ पौडेल र आमा स्वर्गीय जम्मावती पौडेलको कान्छो सुपुत्रको रुपमा जन्मनुभएका उनी विशेषगरी मुक्तक,गजल र गीतको क्षेत्रमा कलम चलाउदै आएका छन ।
पोखराको लेकसाइटमा विगत ३० वर्षदेखि होटल व्यवसाय पनि गर्दै आएका उनको पहिलो साहित्य कृति फेवाका तरङ्ग मुक्तक संग्रह प्रकाशन भइसकेको छ ।
उनै साहित्यकार विष्णु प्रसाद पौडेलका केहि मुक्तक हाम्रा साहित्य संयोजक अपेक्षा अपि खुशि ले सङ्कलन गरि हामिले यहा पस्केका छौ ।
मुक्तक १
माया प्रेममा उमेर ठूलो सानो कहाँ हुन्छ र!
चोखो मायाको सम्बन्ध पुरानो कहाँ हुन्छ र!
एकअर्काको सम्झनाले सताई रहँदा हमेसा
दिनरात रोएपछी आँखा ओभानो कहाँ हुन्छ र!
मुक्तक २
खोज्दैजानु अभियुक्तको प्रमाण भेटिन्छ सरकार
दिनदहाडै निर्दोष व्यक्तिको घाँटी रेटिन्छ सरकार
देशको कानुनले पनि के हेरेर बसिरहेको छ कुन्नि
देश द्रोहिलाई किन सरकारमा समेटिन्छ सरकार?
मुक्तक ३
साहित्यमा लागेपछि धेरै स्रष्टा चिन्ने अवसर मिलेकोछ
ताते ताते गर्दै उहाँहरुको पछि हिन्ने अवसर मीलेकोछ
कहिले अगाडि कहिले पछाडि हात समाएर हिँड्दै गर्दा
खरायो को साथ कछुवा बनि उछिन्ने अवसर मिलेकोछ।
मुक्तक ४
दुःख सुख जिन्दगी चल्दैछ पिर नगर्नु
बाहिर हाँसो भित्र मन जल्दैछ पिर नगर्नु
सोंचेजस्तो कहाँ हुन्छ र जिन्दगी हजुर
हेर्दाहेर्दै उमेर पनि ढल्दैछ पिर नगर्नु।
मुक्तक ५
जीवनमा लड्दालड्दै थाकीसकें खुकुरीको धारसँग
मित्रता बनाउन थालेकोछु आफ्नै घरको दिवारसँग
कति लड्नु दुस्मनसँग अब त आफैसँग हार खाएछु
आफैंलाई भुलाउने प्रयास गर्दैछु मनको संसारसँग ।
