इन्टरसेक्सनालिटी अर्थात अन्तरच्छेदिय अभियानको शुरूवात

भूमिकला पौडेल

काठमाडौं : इन्टरसेक्सनालिटी अर्थात “अन्तरच्छेदिय अभियानका निम्ति पुलको निर्माण तथा परियोजना प्रारम्भ” सम्बन्धी कार्यशाला राजधानीमा सम्पन्न भएको छ । डिसेबिलिटी राइट्स फण्ड अन्र्तगत डिसेबिलिटी राइट्स एडभोकेसी फण्डले राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ–नेपालको आयोजनामा अन्तरच्छेदिय सवालमा समबुझाई कायम गर्ने उद्धेश्यले आफ्ना साझेदार संस्थाहरू बिच सो कार्यशालाको आयोजना गरेको हो ।

इन्टरसेक्सनालिटी अर्थात अन्तरछेदिय भन्नाले बहुपहिचान अर्थात सामाजिक वर्ग, रङ्ग, जात, जातियता, लैङ्गिकता, अपाङ्गता, भौगोलिकता, थातथलो, उमेर, भाषा, धर्म, आदिका आधारमा बहुविभेदित हुनुपर्ने अवस्था आउँदछ भन्ने अवधारणा हो र व्यवहारिक रूपमा हेर्नुपर्दा यसले वास्तवमा नै व्यक्तिको बहुपहिचान हुँदा सबैतिर समावेश भएजस्तो देखिने तर त्यही कारणले विभेदमा पर्नु परिरहेको अवस्था भएको पाइन्छ । त्यसैले यस अवस्थालाई तोडेर अगाडि वढ्नु र पहुँच बिस्तार गर्नु नै यस अभियानको मूल मर्म रहेको छ ।

डिसेबिलिटी राइट्स फण्डले आफ्ना पाँच वटा साझेदार संस्थाहरू राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ–नेपाल, नेत्रहिन महिला संघ–नेपाल, पहिचान नेपाल, एक्सेस प्लानेट तथा दलित महिला संघसँगको संयुक्त साझेदारीमा सञ्चालन गर्न लागेको “अन्तरच्छेदिय अभियान” बारे समबुझाई कायम गरी अगाडी वढ्नका लागि आफ्ना साझेदार संस्थाहरूलाई अनुरोध गर्दै डिसेबिलिटी राइट्स फण्डका नेपाल प्रतिनिधी कृष्ण गहतराजले यस अभियानका उद्धेश्य, योजना, बजेट तथा कार्यक्रमहरू बारे प्रकाश पारे ।

कार्यशालामा राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ–नेपालका अध्यक्ष प्रतिमा गुरुङले बहुपहिचान भएका व्यक्तिहरूको पहिचान के हो त भनेर स्पष्ट भएर अगाडी वढ्न उपस्थित सबैलाई आग्रह गर्दै “हामी सबैतिर छौं, तर कहिँ पनि छैनौं” त्यसैले यो चुनौतीलाई बुझेर सोही अनुसार समबुझाई कायम गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताइन ।

कार्यशालामा उपस्थित साझेदार संस्थाका प्रतिनिधीहरूले संस्थागत रूपमा आफूहरूले के–कसरी काम गरिरहेको छ र अबका दिनमा अन्तरछेदिय अभियानका लागि पुल बनेर संयुक्त रूपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा प्रश्तुतीकरण गरेका थिए साथै उनीहरूले यस अभियानका सम्बन्धमा आफूलाई लागेका कुराहरू बारे प्रष्ट हुन खोजेका थिए र कार्यशालामा यस विषयमा छलफल पनि गरिएको थियो ।

कुनै पनि व्यक्तिको एउटै मात्र पहिचान हँदैन । उसँग जोडिएको बहुपहिचानका आधारमा समाजमा उसको अवस्थिति निर्धारण हुने हुँदा कुनै पनि व्यक्ति, समूह वा समुदाय समाजमा अरू भन्दा कति पीँधमा परेको छ र त्यसलाई कसरी न्यायोचित रूपमा सम्बोधन गर्न सकिन्छ भन्ने सवालमा अन्तरच्छेदिय फ्रेमवर्कको प्रयोग गर्नु अनिवार्य छ ।