संसदको रेकर्डबाट हटाइयाे पशुपतिनाथकाे जलहरीबारे माओवादी सांसदकाे अभिव्यक्ति

काठमाडौं : पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाइएको छ ।

निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लक्षित सांसद दाहालले प्रयोग गरेकाे ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

त्यसअघि बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सो अभिव्यक्ति संसदमा दिनु उचित नहुने भन्दै हटाउन आग्रह गरेका थिए । जलहरीलगायत क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोष भएकाले सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको उनको भनाइ थियाे ।

यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले ओलीलाई लक्षित गर्दै पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल हालेको आरोप लगाएपछि संसदमा हंगामा मच्चिएको थियो । एमालेका सांसदले संसद नै अवरोध गरेका थिए । संसदीय रेकर्डबाट सो अभिव्यक्ति नहटाएसम्म बैठक नै बस्न नदिने चेतावनी दिएका थिए ।

शनिबार बिहान कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा अध्यक्ष ओलीमाथि आरोप लगाइएको प्रसंगलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो ।