

हेटौंडा : मकवानपुरको भीमफेदिमा रहेको बालगृहको छात्रावास भवनको बाल गृहको अध्यक्ष अशोक सारुद्वारा शिलान्यास भएको छ । नेपाल बाल संगठन मकवानपुरद्वारा अनाथ बालबालिकाहरुको लागि संचालित बालगृह(बाल मन्दिर)को नया ३ तले छात्रावासको भवन शिलान्यास भएको हो ।
बाल संगठन भीमफेदिमा तत्कालिन राणाकालिन दरबार रहेको दुइवटा भवनबाट संचालनमा रहे पनि भुकम्पले पुराना भवन क्षेतिग्रस्त हुंदा एमिक्स डेलले बनाइ दिएको साना भवनमा मात्रै बालबालिका रहन अपुग रहेपछि नया भवन बनाउनु परेको संचालक समितिको सचिव आशिष अस्लामीले बताए ।
सरकारले बाल संगठनलाई महिला बालबालिका मन्त्रालय मातहतको संगठनको रुपमा राखे पनि सरकारी तिनै तहको संरचनाबाट अनुगमन गर्ने र निर्देशन दिने भन्दा खास किसिमको सहयोग भने नरहेको सचिव अस्लामीले बताए । अहिले बाल संगठनको पुरानो दरबार रहेको ठूलो भवन भत्किएको अवस्थामा रहेको र पुनः निर्माण समेत नभएको उनले बताए । हाल बाल मन्दिरमा रहेको २८ बालबालिका मध्य १४ जना बालिकालाई ठाउँ अभावमा केन्द्रिय बाल मन्दिर नक्साल पठाइएको र अहिले १४ जना मात्र बालबालिका रहेको छ ।
अहिले बाल मन्दिरको भीमफेदिमा २१ रोपनी जगा रहेकोमा अन्दाजी आधा जमिनमा बालबालिकालाई तरकारी उत्पादन गरिएको छ र बालबालिकाहरुलाई संस्थाले नजिकैको श्री महेन्द्र माध्यमिक बिधालय, कुलेखानी इङ्लिस स्कुल तथा भीमज्योती आधारभुत बिधालयलामा पढाईरहेको छ ।
यहाँ नजिकको अभिभावक पनि पत्ता नलागेका बालबालिकाहरु सरकारको सिफारिसमा आश्रीत हुन्छन् र थर समेत पत्ता नलागेका बालबालिकाको संगठनले नै केटा भए बालक र केटि भए बालिका भनेर थर राख्दिने गरेको छ । संगठनको एसईई सम्म अध्यापन, अवास र स्वास्थ्य सेवाको जिम्मेवारी पूरा गरेर बालबालिकालाई समाजमा सेवा गर्न सक्ने गरि पठाउने गरेको छ ।
